अफगानिस्तानद्वारा नेपाललाई १९१ रनको लक्ष्य

काठमाडौं, साउन,५-

यू-१९ विश्वकप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले १९१ रनको विजयी लक्ष्य पाएको छ। टस जितेर फिल्डिङ रोजेको नेपालले बलियो प्रतिद्वन्द्वी अफगानिस्तानलाई निर्धारित ५० ओभरभन्दा २ बलअघि १९० रनका अलआउट गर्‍यो।

अफगानिस्तानलाई मध्यम स्कोरमा रोक्ने क्रममा सहाव आलमले ३, सन्दीप लामिछाने र पवन सर्राफले समान २ तथा दीपेन्द्र ऐरी र किशोर महतोले १/१ विकेट लिए। अफगानिस्तानका इब्राहिम जद्रानले ४३, नभिद ओवाइदले ३३, तारिक स्टानिकजाइले २७ तथा कप्तान नविन उलहकले २० रनको योगदान गरे।

नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ। प्रतियोगितामा दुवै टोली हालसम्म अपराजित छन्। राउण्ड रोविन लिगका आधारमा खेलाइएको प्रतियोगितामा चारवटै टोलीले एक/अर्कासँग दुई-दुई खेल खेलिसक्दा अंक तालिकाको शीर्ष स्थानमा रहने टिम सन २०१८ को जनवरीमा न्यूजिल्याण्डमा हुने यू-१९ विश्वकपका लागि छनोट हुनेछ।