चैत्र भित्रै आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदै

नेपालगन्ज,चैत्र,०४-
राष्ट्रिय खेलकुद परिषद्ले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता कुनै पनि हालतमा चैतभित्रै हुने जनाएको छ ।

नेपालगञ्ज रंगशाला परिसरमा आज मिडिया सेन्टरको उद्घाटन गर्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशब कुमार विष्टले चैतको २५ देखि ३० गतेसम्ममा प्रतियोगिताको औपचारिक उद्घाटन हुने बताउनुभयो ।

प्रतियोगिताको उद्घाटन ढिलोमा अन्तिम साता गरिएपनि प्रतियोगिताका विभिन्न खेलहरु भने २० गतेदेखि नै शुरु गर्ने तयारी भइरहेको सदस्य सचिव विष्टल जानकारीे दिनुभयो । उहाँले विशिष्ट पाहुनाहरु बस्ने प्याराफिट आउन ढिलाई भएका कारण मिति तोक्न समस्या भइरहेको बताउनुभयो ।

‘भोलि रातिसम्म प्याराफिट नेपालगञ्ज आइपुग्छ, त्यसपछि काम धमाधम अघि बढ्छ, बढीमा १५ दिनमा प्याराफिट बनाएर सकिन्छ,’ विष्टले भन्नुभयो । ‘हामी कुनै हालतमा पनि चैतमै प्रतियोगिता गर्छौं, तपाईंहरु विस्वस्त हुनुहोस, सदस्य सचिव विष्टले भन्नुभयो, ‘कुनै ठूलै प्रलय भए बैग्लै कुरा…नत्र अब चैतमा प्रतियोगिता हुनबाट रोकिने कुनै कारण र अवस्था छैन, सबै उपसमितिहरुले तीब्र गतिमा काम गरिरहेका छन, ढिलोमा चैत अन्तिम सातासम्म प्रतियोगिता सन्चालन हुन्छ ।’

सदस्य सचिव विष्टले भन्नुभयो, ‘खेलाडीको स्वास्थ्यलाई मध्यनजर गर्दे खेलाउनै पर्ने खेल आउटडोर खेलाइने र इनडोरलाई बढि प्राथमिता दिइने छ । ’ सबै एक ढिक्का भएर लाग्न विष्टले आग्रह गर्नुभयो ।

क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले अब प्रतियोगिता हुँदैन कि भन्ने शंका हटेको बताउनुभयो । ‘प्रतियोगिता २०७५ मै हुँदैन कि भन्ने शंका अब आजका दिनदेखि रहेन, सबै मिलेर यो मिसनलाई सफल बनाउन लागौं, प्रतियोगितालाई उपलब्धिमूलक र ऐतिहासिक बनाऔं, ओलीले भन्नुभयो ।’

ओलीले खेलकुद विकास समितिको केन्द्रिय कार्यालय खेल नसकिदासम्म नेपालगन्ज बाटै सन्चालन हुने बताउनुभयो । सदस्य सचिव विष्टले आज नै प्रतियोगिताको स्टिकर र अडियो जिंगल पनि लञ्च गर्नुभएको थियो ।