रेशम चौधरीको प्रमाणपत्र सुरक्षित : प्रमुख आयुक्त

काठमाडौं, मंसिर,२७-

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले समानुपातिकमा बन्दसूचीका नामहरुलाई कुनैपनि हालतमा हेरफेर गर्न नपाइने बताउनु भएको छ ।

बुधबार रिपोर्टर्स् क्लबले राजधानीमा गरेको कार्यक्रममा उहाँले आयोगमा बुझाइएको बन्दसूचीअनुसार पहिलो, दोस्रो र तेस्रोमा रहेका नामहरुलाई प्राथामिकता दिनुपर्ने बताउनुभयो ।

पहिलो चरणको निर्वाचनमा ६५ प्रतिशत मत र दोस्रो चरणमा ६८ दशमलव २ प्रतिशत मत खसेको भन्दै उहाँले सबैभन्दा कम मत बदर मनाङमा सबैभन्दा बढी २ नम्बर प्रदेशको ‘दक्षिण बेल्ट’मा मत बदर भएको जानकारी दिनुभयो ।

अन्य स्थानको तुलनामा काठमाडौंमा कम नै मत बदर भएको उहाँले बताउनुभयो ।

कैलाली क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यमा विजयी ‘रेशम चौधरीको प्रमाणपत्र अब के हुन्छ ?’ भन्ने सन्चारकर्मी प्रश्नमा

यादवले प्रमाणपत्र कसरी दिने भन्नेबारेमा कानुन नभएको भन्दै उनको प्रमाणपत्र सुरक्षित रहने बताउनुभयो ।

चौधरीको विजयी भएको प्रमाणपत्र आयोगले संसद सचिवालयमा बुझाइसकेकाले उनले त्यहाँबाट प्राप्त गर्नसक्नेसमेत प्रमुख आयुक्त यादवले उल्लेख गर्नुभयो ।