मतगणना सकियो, ८० सिटसहित एमाले पहिलो, कांग्रेस तेस्रो दल

प्रत्यक्षतर्फ माओवादी दोस्रो, राजपा चौथो स्थानमा

 

काठमाडौं,मंसिर,२७-

देशभरका सबै निर्वाचन क्षेत्रको मतगणना सकिएको छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा र प्रदेशसभातर्फको प्रत्यक्षतर्फको मतगणना सकिएसँगै समानुपातिकको गणना पनि बिभिन्न जिल्लामा सकिएको छ ।

मतगणना सकिएसँगै प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रमध्ये एमालेले ८० सिट जितेर पहिलो दल बनेको छ । समानुपातिकतर्फ पनि एमालेको अग्रता कायमै रहेकाले अब बन्ने प्रतिनिधिसभामा एमाले सबैभन्दा ठूलो दल बन्ने निश्चित भएको छ । प्रत्यक्षतर्फ एमालेभन्दा आधा कम सिट जितेर माओवादी दोस्रो दल बनेको छ ।

माओवादीले ३६ सिट प्रत्यक्षतर्फ जितेको छ भने समानुपातिकमा तेस्रो स्थानमा छ । यस्तै नेपाली कांग्रेसले २३ सिट जितेर तेस्रो स्थानमा झरेको छ । वामपन्थी गठबन्धनको प्रत्यक्षतर्फ ११७ सिट पुगेको छ, जुन दुई तिहाइ संख्या हो । यसमा राष्ट्रिय जनमोर्चा र राप्रपाका राजेन्द्र लिङ्देनको पनि सिट जोडिएको छ ।

हुम्लाबाट स्वतन्त्र निर्वाचित माओवादी नेता छक्कबहादुर लामाले समेत आफू वामपन्थी गठबन्धनकै सांसद रहेको भनिसकेका छन् । यसो गर्दा वामपन्थी गठबन्धनको प्रत्यक्षतर्फ ११९ सिट पुगेको छ ।

कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले ३८ सिट जितेको छ जसमा नयाँ शक्तिका डा. बाबुराम भट्टराई पनि पर्छन् । प्रत्यक्षतर्फ नेपाली कांग्रेस एक्लैले २३ सिट जितेको छ ।

त्यस्तै मधेसवादी गठबन्धनले २१ सिट जितेको छ । जसमध्ये राजपाले ११ र संघीय समाजवादी फोरमले १० सिट जितेका छन् । कुनै पनि गठबन्धनमा नरहेको नेपाल मजदुर किसान पार्टीले एक सिट जितेको छ ।साभार : अनलाईखबरबाट