“छहरा झरनाको” परिवर्तन

बुडर,डोटी,कार्तिक,२५-समयको घडी सङ्गसङ्गै परिवर्तनको घडीले पनि गति बढाउँछ ।परिवर्तन आफैमा एक गतिशिलता हो। मैले कल्पना नै नगरेको मेरो गृह जिल्ला डोटी जोरायल गाउपालिकामा अवस्थित “छहरा”नामको झरना यति छिटै पर्यटकको परेली भित्रको नयनमा पर्न सफल होला भनेर कल्पना नै गर्न सकेको थिएन,तर समयको सामर्थ्यले नयन र हृदयमा डेरा जमाउन सफल भएको छ ।

पर्यटन विकासको उत्कृष्ट सम्भावना बोकेको उक्त झरना मेरो घरको सैरोफोरोमा नै अवस्थित छ ।म धेरै पटक “छहरा झरना ” लाई भेट्न गएको छु। कहिले साथीहरु सङ्ग कहिले घरपरिवार त कहिलेकाँही एक्लै पनि जान्छु किनकि “छहरा झरना” को सुन्दरता अनि चञ्चलताले म निकै लठ्ठीत हुन्छु।

केही दिन अगाडी पनि म छहरालाई भेट्न गएको थिए। सधैँ जसो जाँदा अलि सुनसान लाग्ने छहरा यो पटक भने निकै गुञ्जमान देखिन्थ्यो । जताततै मान्छेहरुको जमातलाई हेरेर लट्ठ परिरहेको थिए।कुनै दिन स्याल कराउने खोला आज पर्यटकले भरिभराउ हुदैँछ।बाटोघाटोमा सुधार रोडको स्तरोन्नति कारण यो सम्भव भएको हो।संघीयताको एक राम्रो पक्ष यो पनि हो।

छहरा झरनाका इतिहासका पानाहरु पल्टाएर हेर्ने हो भने बढो रोचक र सुन्दर लाग्छ । सत्ययुगमा भगवान बिष्णु कैलाश जाने भनी हिडेका रहेछन् त्यस बेलामा छहराको नजिक पुगेछन आहा! कस्तो सुन्दर झरना स्नान गरेर जानुपर्छ भनी शिर छहरामा लगाए, नाबी छहरा झरनाको नजिकै पर्ने त्रिवेणी धाममा, देब्रे पाउ फल्टुडेको तल किलालौडा भन्ने ठाउँमा राखे र दायाँ पाउ खसरे भन्ने ठाउको माथि राखे जुन बिष्णु पातक भन्ने गरिन्छ ।

अझै पनि त्यस ठाउॅंमा भगवान बिष्णुको पाइलाको छाप यथावत रहेको छ । छहरा झरनामा भगवान विष्णुले स्नान गरिसके पछि बाबा घन्टेश्वरले पनि त्यस ठाउमा प्रत्येक वर्ष स्नान गर्दै आइरहेका छन् । जुन वैशाख एक गतेका दिन स्नान गर्ने गर्दछन् ।त्यस दिनलाई छहराको बिसु मेला पनि भन्ने गरिन्छ,र त्रिवेणी धाममा भगवान बिष्णुको नाबी परेको हुनाले मानिस मात्रै हैन्,यहाँका देवी देवता पनि प्रत्येक वर्ष स्नान गर्ने गरेका छन् ।जुन स्थानीय भाषा अनुसार भडार उचाउने भनिन्छ ।

हुन त हामी नेपाली प्रकृतिका र संस्कृतिमा संसारकै सबैभन्दा धनी मानिस प्रकृति र संस्कृति नेपालका पहिचान हुन अनि पर्यटनको विकास यो देशको आधारशिला हो । प्रकृतिले यो देशलाई स्वर्ग बनाइ दियो ।अनि पुर्खाले संस्कृति जोगाएर हामीलाई महान नेपाली बनाइदिए ।
“हामीले माल पाएर चाल मात्र नपाएको हो ।”
“जब एउटा बाटो बन्द हुन्छ,तब अर्को बाटो खुला हुन्छ । जब पानी पर्छ तब घाम लाग्छ,तर धेरै जसो मानिसले त्यो बन्द बाटो र परिरहेको पानीलाई मात्र हेरेर बस्छन् । हामीले अर्को खुल्ला बाटो र पानी पछिको घामलाई पनि हेर्न जान्नु पर्छ “।

हामीले सबै थोकमा परिवर्तन ल्याउन खोज्यौ,तर पूर्णरूपमा केही चिजमा पनि परिवर्तन ल्यएनौ । न त हाम्रो सोचमा परिवर्तन आयो न त हाम्रो व्यवहारमा परिवर्तन आयो न त हाम्रो शासकको मस्तिष्कमा विकासको परिवर्तन आयो । यो देशको त्यस्तो ठाउ छैनन् होला राजनीति नभएको,यहां एकले अर्काको खुट्टा काट्नैपर्ने छ । बिडम्वना यहीँ भयो छहरा झरनामा पनि यहाँ विवाद हुँदैछ।छहरा झर्नाको स्तर उन्नती र पर्यटन क्षेत्र बनाउनका लागि समिति चयन गरिएको छ। तर त्यो समिति कुन दुलोमा लुकेको छ थाहा पनि छैन् ।

आएका पर्यटकबाट यो झरना आहा ! कस्तो व्यवस्थित छ भनेर सन्नै पाइदैन।अर्को समिति चयन होस् या नहोस् तर मेरो व्यक्तिगत बुझाइबाट सानो सुझाव छ ।
१- सबैभन्दा पहिला छहरा झरनामा प्रवेस द्वारको निर्माण गर्नुपर्ने !!
२- आएका पर्यटकलाई स्वागत गर्नुपर्ने !!
३- टिकट प्रणालीको व्यवस्था गर्नुपर्ने !!
४- आएका पर्यटकलाई झरनाको माथि तिर जान  नदिने !! 
५- तस्बिर खिच्न भनी झरनाको माथिल्लो भाग जहाँ भगवानको मुर्ति छ,त्यहा जान नदिने त्यस ठाउँमा तारवार गर्नुपर्ने !!
६- पर्यटक जो कोहीलाई पनि मदिरा जन्य पदार्थ ल्याउन नदिने !!
७- नजिकै रहेको मन्दिरमा भगवानको मुर्ति राख्नुपर्ने !!
८- त्यस ठाउँ वरपर रहेको फोहोर सफा गर्नुपर्ने !!
९-झरनाको करिब २०० मिटर तलतिर शौचालय निर्माण गर्नुपर्ने !!
१९- इच्छुक व्यक्तिलाई झरना नजिकै पूजापाठको सामाग्री र नास्ताका पसलहरु राख्न दिनुपर्ने ।

यस्ता खालका कुरामा विकास र निर्माण गर्न सकियो भने आफै छहरा झरनाको पर्यटन विकास हुन्छ । हामी डोटेली जनतासंगँ सबै थोक छ । हामीले यसै छहरा झरनाको सही सदुपयोग गरेको खण्डमा यो झरना हाम्रो ठाउँको लागि अर्थतन्त्रको मेरुदण्ड बन्न सक्ने छ ।

यसका माध्यमबाट होटल व्यवसाय,होमस्टे खोलेर जोरायलको वासमती चामलको भात र गतानी डुब्काको दाल अनि खाजामा भुटेको मकै र भट्टले पूर्णरूपमा पर्यटकलाई आनन्द बनाउन र आफ्नो आर्थिक विकास गर्न सक्छौ ।