काठमाडौं,पुष,१२-नेकपा (माओवादी केन्द्र)को जारी आठौं महाधिवेशनको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदन पेश गर्नुभएको छ ।
‘२१औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको वैचारिक एवम् राजनीतिक प्रतिवेदनमा समसामयीक विषयमा पार्टीको धारणा समेटिएको छ।प्रतिवेदनमा समान विचार राख्ने वामपन्थी र लोकतन्त्रवादी शक्तिबीच संयुक्त मोर्चा बनाउने आगामी कार्यदिशा अपनाइने उल्लेख छ ।
अध्यक्ष दाहालले पार्टीभित्र व्यक्तिगत पद प्रतिष्ठा, लाभ र स्वार्थका निम्ति जस्तोसुकै खराब काम गर्न पछि नपर्ने प्रवृत्ति विकास हुँदै गएको औंल्याउनुभएको छ । व्यक्तिवाद हाबी हुँदै जाँदा क्रान्तिकारी रुपान्तरण जटिल विषय बनेको दाहालको निष्कर्ष छ ।
दाहालले ‘खुला र प्रतिस्पर्धाको राजनीतिमा निजी सम्पत्ति छाडेर सामूहिक जीवन पद्धति अँगाल्ने दिशातिर अग्रसर सांस्कृतिक नेता कार्यकर्ताको विकास गर्न सम्भव छ ?’ भनेर प्रश्न समेत उठाउनुभएको छ । उहाँले पार्टी शान्ति प्रक्रियामा आएपछि आफूले मुख्य रूपमा तीन वटा गल्ती गरेको स्वीकार्दै आत्मसमीक्षा गर्नुभएको छ ।
पालुङटारमा भएको पार्टीको विस्तारित बैठकपछि मुखमा चुनाव, मनमा विद्रोहको नीति लिनुलाई उहाँले पहिलो गल्ती ठान्नुभएको छ ।
सेना समायोजनका क्रममा पार्टीमा छलफल नगर्नु, प्रचण्डपथलाई हठात् स्थगित गर्नुलाई पनि दाहालले आफ्नो गल्ती ठम्याउनुभएको छ । तर, यसको अर्थ प्रचण्डपथ पुनःस्थापित गर्नुपर्छ भन्ने नभएको पनि उहाँले प्रतिवेदनमा प्रष्टीकरण दिनुभएको छ ।
दाहालले संविधान संशोधनका लागि सडक, सदन र सरकारसहित सबै क्षेत्रबाट संघर्ष गर्ने बताउनुभएको छ । संविधानमार्फत् उत्पीडित वर्ग, जाति, क्षेत्र तथा समुदायको पहिचान र अधिकारसहितको संघीयता संस्थागत गर्न नसकिएको प्रतिवेदनमा उल्लेख छ ।
दाहालले यथास्थितिमा एमसीसी सम्झौता पारित गर्न नहुने पनि बताउनुभएको छ । एमसीसी परियोजना परिमार्जन र संशोधनपछि मात्र पारित गर्ने नीति लिइएको प्रतिवेदनमा उल्लेख छ ।
दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गर्नुभएको छ ।ओलीको चरम व्यक्तिवादी अहंकार, निरंकुश ढंगबाट सरकार र पार्टी सञ्चालन गर्न खोज्दा पार्टीभित्र अन्तरसंघर्ष चलेको र पार्टी विभाजन भएको प्रतिवेदनमा उल्लेख छ ।
ओलीको दलाल पुँजीपतिका अघि आत्मसमर्पण गर्ने चरित्रले पार्टी एक रहन नसकेको भन्दै दाहालले पार्टीभित्र आफ्नो हार हुने देखेपछि ओलीले संसद विघटन गरेको जिकिर गर्नुभएको छ । माधवकुमार नेपालसँग भने सहकार्य गर्न सकिने प्रतिवेदनमा उल्लेख छ ।
पार्टीलाई उत्पादनसँग जोड्ने प्रस्ताव पनि अध्यक्ष दाहालको प्रतिवेदनमा छ । यसका लागि पार्टीका नेता कार्यकर्ताले अनिवार्य वर्षमा कम्तीमा १५ दिन शारीरिक श्रम गर्नुपर्ने उहाँको प्रस्ताव छ ।