सविना महर्जन खोजिदिन दिदी बिनाको जापानबासी नेपाली समुदायलाई अपिल

८ बर्ष बितिसक्दा पनि अझै पत्ता लागेन, अहिले सम्म जापानमा दुई नेपाली युवती वेपत्ता

मिलन मगर/
फुकुओक जापान भादौ,१९-

सविना महर्जन अध्ययनका लागि सन् २००८ मा जापानको फुकुओका आइन् । सन् २००९ सम्म परिवारको सम्पर्क र नियमीत रुपमा साथिभाइसँग सम्पर्कमा रहेकी सविना एकाएक बेपत्ता भइन् ।

बिना कुनै खवर बेपत्ता भएपछि आफ्नी छोरिको खोजिमा सविनाका वुवा समेत जापान आउनुभयो । जापान प्रहरी, नेपाली समुदाय, चिनेजानेका, सबिनाका साथि सबै भेटे तर कहिँबाट केही पत्तो लाग्न नसकेपछि उहाँ करिव ३ हप्ता जापान बसेर फर्कनुभयो ।

जापानमा बेपत्ता भएका ललीतपुरका सविना महर्जन

छोरि खोजेर पत्ता लगाइदिने भन्दै उल्टै आशा देखाउँदै जापानको बिभिन्न संघ सस्था तथा जापानी प्रहरीले घटना बाहिर नल्याउन भन्दै खोजिरहेको जवाफ दिएर सविनाको बुवा लाई नेपाल फर्काइयो।

तर नेपाल फर्कीएपछि बेपत्ता सबिनाबारे न जापानी प्रहरीले केही जानकारी दियो न त नेपाली संस्था तथा दुताबासले जानकारी दियो न त सबिनाको पत्तो नै लग्यो ।

नेपाल स्थित जापानी दुतावासमा समेत कयौंपटक धाएपनि कुनै पत्तो लाग्न नसकेपछि परिवारजन निरास भयो । यो निरासा दिन महिना हुँदै अहिले ८ बर्ष बितिसकेको छ । तरपनि झिनो आसा राख्दै दिदी बिना महर्जनले आफ्नो पिडा सामाजिक सञ्जालमा पोखेपछि यो कुराले फेरी चर्चा पाएको छ ।

ललितपुर ३ पुल्चोक कि सविनाको खोजिमा सहयोग गरिदिन बिना र उनको परिवारले पटक पटक आग्रह गरेको छ ।तर यता जापानमा भने न त दुताबासले चासो देखायको छ नत NRNA का समाज सेबी भनोउदाले चासो देखायको छ  ।बिना महर्जनले भन्नुभयो-‘अहिलेसम्म पत्तो लाग्न सकेको छैन, हामी अझै जापानमा रहनुभएका नेपालीहरुको साथ र सहयोगबाट सत्यतथ्य पत्ता लाग्ने आशामा छौं ।

बेपत्ता हुनु अघिसम्म सबिना फुकोओकामा बस्ने गरेकी थिइन् । फुकोओकाको मिनामी वार्डमा बस्ने गरेकी सबिना बेपत्ता भएपछि उनिबारेमा थप जानकारी बारे जापान प्रहरीले केहि जानकारी नदिएको दिदी बिनाको भनाई छ ।

सन् २०१३ अक्टोवर १३ मा सविनाका बुबा सानुलाल महर्जनले बेपत्ता सबिना खोजि गरिदिन भन्दै जापानमा रहेको नेपाली राजदूतावासमा निवेदन समेत दिएका थिए ।

त्यतिवेला सविनाकी दिदी तथा विभिन्न राजनैतिक पार्टीहरुको सहयोगले सविनाको स्थिति सार्वजनिक गर्न सबै पक्षसंग अनुरोध गरिएको थियो । हजारौ प्रयासहरु गर्दा पनि सविनाको स्थिति अहिले सम्म गुमनाम नै रहेको छ ।

अनुसन्धानको क्रममा पाईएको बयान अनुसार सविना २००८ मा जापानको एशिया जापानिज एकेडेमीमा पढ्न गएकी हुन् । २००८ अगष्ट २७ तारिखमा सविना स्कुलमा नदेखिए पछि उनलाई स्कुलका स्टाफले फोन गर्दा उनले आफ्नो साईकल पन्चर भएको हुनाले आफू स्कुल आउन ढिलो हुने बताएकी थिईन् ।

त्यसपछि उनलाई सम्पर्क गर्न खोज्दा उनि सम्पर्कमा नआएको बताईएको थियो । अगष्ट २६ सम्म सविना संग सम्पर्क भएको र अवस्था बुझ्दा सबै ठिक भएको जवाफ आएको तर अगष्ट २८ मा उनलाई सम्पर्क गर्दा उनको फोन नउठेको बताइन्छ ।

फोन नउठिसकेपछि अगष्ट ३१ मा सविनाकी साथी सविना बस्ने गरेको कोठामा जाँदा उनको कोठा बन्द भएको खुलेको थियो ।त्यसपछि स्कूलले जापानी प्रहरीलाई सम्पर्क गरि सविनाको कोठाको छानविन तथा तलासी गरेको थियो । पुलिसले तलासी गर्दा उनको कोठामा बेड, टेबल बाहेक अरु सबै सामान गायब भएको र सविनाले चढ्ने साईकल पनि हराएको देखिएको थियो ।

सविनाको बुबा लगायत परिवारले पटक पटक जापान प्रहरीलाई खोजविनको लागि अनुरोध गरेको तर ८ वर्ष सम्म पनि त्यसको कुनै प्रतिफल ननिस्किएको बिनाको भनाई छ ।

परिवारले यत्तिका वर्ष सम्म पनि सविनाको अवस्था सार्वजनिक गर्न नसक्नुमा जापानी प्रहरीको कार्यक्षमता तथा उनीहरुको रवैया प्रति नै प्रश्न उठाउन थालेका छन् ।

नेपाली चेली तथा नेपाली नागरिकको हैसियतमा समेत जापानमा बेपत्ता हुँदा जापानमा रहेको नेपाली दूतावासले जापानी प्रहरी र प्रशासनसँग सशक्त रुपमा खोजिको पहल गरिदिन आग्रह र जानकारी लिने काम नगरिदिंदा जापानी प्रहरीले समेत पुरानो घटनाको बहानामा वेवास्ता गर्न थालेको देखिएको छ ।

आफ्नो नागरिक बेपत्ता भएको ८ बर्षसम्म पत्तो लगाउन नेपाली दूतावासले खेलेको भूमिका आशा लाग्दो नदेखिएपछि परिवारजन थप निरास भएका छन् ।नेपालबाट जापान अध्ययनको लागि पठाएको स्ट्याण्डर्ड ल्याग्वेज इन्टिच्युटले पनि सबिनाको खोजिको लागि कुनै पहल नगरिदिएको बिनाले जानकारी दिनुभयो ।

भिडीयो हेर्नुहोस् ।

यसैविच :

स्मरणीय छ दुई बर्ष अघिपनि जापानको सेन्दाईबाट एक नेपाली युवती बेपत्ता भएकी थिइन् । गुरुगं थर भएकी ति युवतिले मलाई धेरै बाच्ने रहर छैन भनेर लेखेको भेटिएको बताइएपनि अहिलेसम्म उनको कुनै पत्तो लाग्न सकेको छैन ।जापानी प्रहरीले उनको पनि खोजि भइरहेको बताएपनि उनीबारेको सत्यतथ्य जानकारी अहिलेसम्म बाहिर आएको छैन ।

जापानमा जापानी प्रशासन र प्रहरीले बिदेशी नागरिकहरुलाई दोस्रो नजरले हेर्ने, व्यवहार गर्ने आरोप लाग्दै आएको छ । यस बाहेक पनि एशियन मुलुकका नागरिकमाथि बढि केरकार र उनिहरुका समस्याको सुनुवाइमा बेवास्ता गर्ने आम आरोप लागि राख्दा बेपत्ता नेपाली नागरिकबारे कुनै जानकारी नहुनुले त्यस्ता आरोपहरुमाथि बल पुगेको देखिन्छ ।

यसैगरि जापानमा रहेका आफ्ना नागरिकको सुरक्षा, उनिहरुको अवस्था आदिको बारेमा जानकारी लिन र राख्न नेपाली दूतावासले खेलिरहेको भूमिकामाथि प्रश्न उठेको छ ,भने जापानमा रहेका साझा भनिने संगठन देखी जिल्ला र जात, थरका आधारमा समेत खोलिएका सयौं संस्थाहरुको उपादेयता माथि समेत पिडित परिवारजनसँगै जापानमा रहेका नेपालीहरुले प्रश्न उठाउन थालेका छन् ।