गुरुपूर्णिमा पर्व मनाइँदै :यस्तो छ गुरुपूर्णिमाको महत्व

काठमाडौं,असार,२५-

आज आषाढ शुक्ल पूर्णिमा, गुरुप्रति सम्मान प्रकट गर्दै गुरुपूर्णिमा पर्व मनाइँदैछ । आजका दिन आज गायत्री, दीक्षा, वेदमन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी पर्व मनाइँन्छ ।

पूर्णिमा व्रत शनिबार परेपनि गुरुप्रति सम्मानभाव प्रकट गर्ने पर्व भने आज परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । व्रतमा चन्द्रमाको पूजा गरिने र चन्द्रमाको पूजा सायंकालमा पूर्णिमा भएका दिन गर्नुपर्ने भएकाले शनिबार नै पूर्णिमाको व्रत गर्नुपर्ने निर्णय गरिएको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो ।

गुरुपूर्णिमाका अवसरमा आज विद्यालय एवम् विभिन्न सङ्घसंस्थाले कार्यक्रम गरी शिक्षादीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्दैछन् । आजैका दिन वर्षको एक दिन मात्र खुल्ने श्रीपशुपतिनाथका गुरु दक्षिणामूर्तिको मन्दिर पनि आज सबै बिहानै देखि भक्तजनको घुइँचो लागेको छ ।

यसैगरी रातो मत्स्येन्द्रनाथका गुरु गोरखनाथको मृगस्थलीस्थित पीठ पनि आज खुला हुँदैछ । आजै वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गर्नुहुने वेदव्यासको सम्झनामा व्यास जयन्ती पनि मनाइन्छ ।

आषाढ शुक्ल पूर्णिमाकै दिन वेदव्यास जन्मिएकाले यसै दिन व्यास जयन्ती मनाउने गरिएको हो ।