आज त्रिशूल जात्रा

काठमाडौ,असार,३-

असार कृष्ण अष्टमी (भलभल अष्टमी) का दिन आज देवपत्तनमा त्रिशूल जात्रा मनाइँदैछ । कन्या र कुमारलाई त्रिशूलमा उने जसरी २० हात अग्लो थामको टुप्पोमा उत्तानो पारेर मनाइने यो जात्रा त्रासदीपूर्ण र कहालीलाग्दो मानिन्छ ।

अमालकोट कचहरी कार्यालयले यो जात्रा आयोजना गर्दै आएको छ । किम्बदन्ती अनुसार बालबच्चा मारेर खाने नागर्जुनको राक्षसलाई तिम्रा सन्तानको पनि यही दुर्दशा बनाइदिन्छौँ भनेर देखाउन यो जात्रा मनाउने गरिन्छ ।

कार्यालयका अनुसार मारिएका बालबालिकाको पाँचवटा भोटा पनि यसै दिन प्रदर्शन गरिन्छ । जात्रा सकिएपछि एक वर्षका लागि भोटो भुवनेश्वरी पीठमा थन्क्याउने गरिन्छ ।

भुवनेश्वरीका पुजारी रवि कर्माचार्यका अनुसार यी भोटो निकै राम्रा र आकर्षक छन् । शनिबार देवपत्तन, जयवागेश्वरी र सिफलमा जात्रा चलाउँदा यी भोटो अवलोकन गर्न सकिन्छ ।