आज दशैंको तेस्रो दिन, चन्द्रघण्टा देवीको पूजा गरिँदै

kharibotकाठमाडौं,असोज,१९-नेपालीहरूको महान् पर्व बडादशैं अन्तर्गत नवरात्रिको तेस्रो दिन आज शनिवार नवदुर्गाका नौवटा रूपमध्ये ‘चन्द्रघण्टा’ नाम गरेकी दुर्गा भवानीको पूजापाठ तथा दर्शन गरेर दसैं मनाइँदै छ।

आजको दिन पनि पहिलो दिनजस्तै नित्य पूजा गरेर विशेष रूपमा चन्द्रघण्टाको पूजाआराधना गरी चण्डीपाठ, कुमारी पूजा तथा हवन गर्नुपर्ने शास्त्रमा उल्लेख छ। उनलाई खुसी पारी कार्यसिद्ध गर्न ‘ॐ ऐं ह्रीं क्लीं चन्द्रघण्टायै नमः’ मन्त्र १०८ पटक जप्नुपर्ने मान्यता रहेको छ।

उनको मस्तकमा घण्टीको आकार जस्तै अर्धचन्द्र भएकाले चन्द्रघण्टा नाम रहन गएको हो। उनलाई सुनजस्तो पहेंलो शरीर र दसवटा हात भएकी देवी भनेर देवीभागवतमा उल्लेख छ।

हातमा त्रिशूल, गदा, तरबार, कमण्डलु, धनुबाण, कमल पुष्प, अक्षमाला धारण गरी वरद तथा अभय मुद्रा प्रदर्शित गरेकी देवी चन्द्रघण्टाको वाहन बाघ मानिएको छ।

उनको घन्टको ध्वनिले भूतप्रेत भाग्ने र आसुरीभाव भएका शत्रुहरू परास्त होऊन् भन्ने कामनाले उनको पूजा गर्नुपर्ने धार्मिक विश्वास रहेको पाणिनि संस्कृत विद्यालय, विराटनगरका पं. राजेन्द्र आचार्य बताउँछन्।

चन्द्रघण्टाको उपासना गर्नाले सिंह या बाघको जस्तै पराक्रम तथा निडर हुनुका साथै सद्गुण, वीरता तथा विनम्रताको विकास भई शरीरमा कान्ति र गुणको वृद्धि हुने बताइएको छ।

चन्द्रघण्टाको आराधना गर्नाले सबै प्रकारका दुःख, कष्ट नाश हुने र सबै प्रकारका बाधाव्यवधान हट्ने जनविश्वास छ।

नवरात्रका नौ दिन नवदुर्गाका नौवटा रूपमध्ये पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।