एमाले–माओवादी कम्युनिष्ट होइनन : सिपी गजुरेल

सिर्जना बर्देवा/ 
ओखलढुंगा,माघ,१२-
नेकपा क्रान्तिकारी माओवादीका स्थायी कमिटी सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका संयोजक सिपी गजुरेलले एमाले माओवादी केन्द्रबीचको बाम गठबन्धन दक्षिणपन्थी गठबन्धन भएको आरोप लगाएका छन् ।

सिपी गजुरेल

ओखलढुंगामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता गजुरेलले दुई पार्टीबीचको गठबन्धन वामपन्थी नभएर दक्षिणपन्थी भएको आरोप लगाएका हुन् ।  नेकपा क्रान्तिकारी माओवादीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले एमाले र माओवादी दुवै वामपन्थी नभएकाले उनीहरुको गठबन्धनले दक्षिणपन्थीहरुलाई फाइदा पुगेको दावी गरेका छन् ।

देश अहिले तीन खतराले आक्रान्त रहेको उनको भनाइ छ । सत्ताधारीहरुले निर्वाचनभएपछि सबै समस्या समस्या समाधान हुन्छ भन्ने भ्रम छरे पनि तीन खताराले नेपालको अतित्व संकटमा परेको उनको दावी छ ।

विरजञ्जको छप्कैयामा सिमा मिचिएको काण्डले राष्ट्रिय स्वाधीनता खतारामा रहेको गजुरेलको दावी छ । राष्ट्रिय स्वाधीनताको रक्षा, भ्रष्टाचार निवारण र बेरोजगारी समस्याको समाधान लोकतान्त्रिक भनिएको विहारी शैलीको संविधान र गणतन्त्रले गर्न नसक्ने उनको भनाइ छ ।

क्रान्तिकारी माओवादीले अब चिनीया शैलीको जनगणतन्त्र स्थापनाका लागि क्रान्तिकारी शक्ति निर्माण गरेर आन्दोलन गर्ने पनि उनको भनाइ छ । त्यस्तै देशमा भ्रष्टाचार मौलाएको बताउँदै विहारी गणतन्त्रले देश र जनताको स्वाधीनताको रक्षा नहुने तर्क गर्दै उनले बेरोजगारीले युवाहरु विदेशिदा नेपालका शासकहरु रेमिट्यान्स खाएर रमाएको आरोप लगाए ।