थाइ क्लब चोनबुरी एफसीसँग नेपाल ३-१ गोलले पराजीत

यस अघि थाइल्याण्डसँग नेपाल २-० ले पराजित भएको थियो।

काठमाडौं,चैत्र,१३-नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण फुटबलमा थाइल्याण्डको क्लब  चोनबुरी एफसीसँग पराजित भएको छ ।

चोनबुरी स्टेडियममा आइतबार भएको खेलमा नेपाललाई घरेलु टोलीले ३-१ गोल अन्तरले हराएको हो । 

चोनबुरीका लागि फान्थामित प्रनात, रेनाटो केलिक र नाट्टापोङले एक एक गोल गरे ।नेपालका लागि दर्शन गुरुङले एक गोल फर्काए  ।

खेलको २४ औं मिनेटमा फान्थामितले गोल गर्दै चोनबुरीलाई सुरुआती अग्रता दिलाएका थिए ।

६५ औं मिनेटमा रेनाटोले गोल गर्दै चोनबुरीको अग्रता २-० को बनाए ।खेलको ८३ औं मिनेटमा दर्शनले गोल गर्दै नेपाललाई २-१ को स्थितिमा ल्याए ।

त्यसपछि खेलको इन्जुरी समयमा नाट्टापोङले गोल गर्दै घरेलु टोलीलाई ३-१ को जित दिलाए ।

नेपालले यस अघि थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा नेपाल २-० ले पराजित भएको थियो ।

एएफसी एसियन कप छनोटको तेस्रो चरणको तयारीका लागि नेपाल मैत्रीपूर्ण खेल्न थाइल्याण्ड गएको हो ।

एसियन कप छनोटमा नेपाल  समूह ‘ए’ मा रहेको छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् ।

नेपालको समूहको छनोट खेलहरु कुवेतमा आयोजना हुनेछ । छनोट खेलहरु जुन ८ देखि १४ सम्म हुनेछ ।

नेपालले जुन ८ मा जोर्डनसँग खेल्दै छनोटको सुरुआत गर्नेछ ।दोस्रो खेलमा नेपालले जुन ११ मा कुवेतको सामना गर्नेछ ।नेपालले जुन १४ मा इन्डोनेसियाविरुद्ध खेल्नेछ ।