नवनियुक्त राजदूत राणाद्वारा जापानी सम्राट्समक्ष ओहोदाको प्रमाणपत्र

नेपाल जापानको सम्बन्ध अझ नजिक बनाउन दुवै पक्षबीच छलफल

जापान,असार,१०-

जापानका लागि नवनियुक्त राजदूत प्रतिभा राणाले जापानी सम्राट् अकिहितो समक्ष शुक्रबार ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको छ । सो अवसरमा नेपाल जापानको सम्बन्ध अझ नजिक बनाउन हुन सक्ने थप प्रयासबारे दुवै पक्षबीच छलफल भएको उपनियोग प्रमुख कृणचन्द्र अर्यालले जानकारी दिनुभयो ।

उहाँका अनुसार २०१४ मा नयाँ सम्राट् भएदेखि निरन्तर उपचाररत ८४ वर्षीय अकिहितालाई राजदूत राणाले सुस्वास्थ्य र समृद्धिको कामना गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले पठाउनुभएको सन्देश पढेर सुनाउनुभएको थियो । जापानी सम्राट् अकिहितोले नेपालको बदलिँदो राजनीतिका कारण भइरहने फेरबदललाई विशेष चासोका रुपमा लिँदै राजदूत राणाको कार्यकाल सफलताको शुभकामना दिनुभयो ।

जापानी सम्राट् र राजदूत राणाबीच गत वर्ष जापानको कुमामोतो क्षेत्रमा गएको भूकम्प पीडित जापानीलाई नेपाली राजदूतावास र नेपाली समाजले गरेको सहयोग तथा नेपालका भूकम्पपीडितलाई जापानी जनता र सरकारले गरेको सहयोगका विषयमा पनि छलफल भएको थियो ।

सन् २०१५ मा कुमामोतो क्षेत्रमा तत्कालिन कावा राजदूत गेहेन्द्रराज भण्डारी, गैरआवासीय नेपाली सङ्घ जापानका अध्यक्ष सुदन थापा, व्यवसायी केशव थापा, प्रल्लाद महतलगायतको टोलीले खाद्यान्न र सरसफाइमा सहयोग गरेको थियो । सम्राट् अकिहितोले दुई दशकअघि नेपाल भ्रमण गर्नुभएको थियो । रासस