मुम्बई बमकान्डमा संलग्न दुईजनालाई मृत्युदन्डको फैसला

मुम्बई, भदौ २२-

भारतको मुम्बईमा सन् १९९३ मा गराइएको शृंखलावद्ध बम विस्फोटमा संलग्न रहेका दुईजनालाई मृत्युदन्डको फैसला सुनाइएको छ ।

मुम्बईको एक अदालतले २३ वर्षअघि मुम्बईका विभिन्न ठाउँलाई लक्षित गरी शृंखलावद्ध बम विस्फोट गराउने फिरोज खान र तारिह मर्चेन्टलाई आज मृत्युदन्डको सजायँ सुनाएको हो ।

बम आक्रमणमै संलग्न अबु सलेम र करिमुल्लाहलाई भने आजीवन कारावासको सजायँ सुनाइएको छ । रियाज सिद्दीकीलाई भने १० वर्षको सजायँ सुनाइएको छ ।

उक्त बम बिस्फोटमा २ सय ५७ जना मारिएका थिए । मुम्बई आक्रमणबारे सन् २००६ मा महत्वपूर्ण फैसला आएको थियो । १२३ जना अभियुक्त मध्ये १०० जनालाई विभिन्न सजायँ तोकिएको थियो भने २३ जनालाई रिहा गरिएको थियो ।

यसै मुद्दामा कलाकार सन्जय दत्तले समेत जेल जीवन व्यतित गर्नुपरेको थियो । यही मुद्दामा दोषी पाइएका याकूब मेननलाई सन् २०१५ जुलाईमा फाँसीको सजायँ दिइएको थियो ।

सन् १९९३ को १२ मार्चमा मुम्बईमा गराइएको श्रृंखलावद्ध आक्रमणमा अन्डरवर्ल्ड डन दाउदको हात रहेको दावी भारतीय सरकारले गरेको छ । (एजेन्सी)