नेपालमा बनेको फोहोर व्यवस्थापन गर्ने मेसिन जापान निर्यात

३ वटा मेसिनको मूल्य ३ करोड देखी ५ करोड रुपैयाँसम्म पर्ने

हेटौँडा,असार,१७-नेपालमा बनेको फोहोरबाट नवीकरणीय ऊर्जा हाइड्रोजन ग्यास क्लिंकर उत्पादन गर्ने मेसिन जापान निर्यात भएको छ।आइतबार बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले उक्त मेसिन जापान निर्यातको सुभारम्भ गर्नु भएको हो।

जापानी कम्पनी यामातो इन्टरनेशनलले हेटौंडा उपमहानगरपालिका वडा नम्बर-८ मा फोहोर व्यवस्थापन गरी नवीकरणीय उर्जा उत्पादन गर्ने मेसिन बनाउने कारखाना सञ्चालन गरेको हो।

कानुनी जटिलताका कारण नेपालमा भने मेसिन बिक्री गर्न समस्या भएको छ।विश्व बजारमा फोहोर चुनौतीका रुपमा देखिएका कारण फोहोरबाट नवीकरणीय उर्जा बनाउँदा फोहोर व्यवस्थापन सहज हुने जापानीज वैज्ञानिक मासामोरा यामाजीले बताउनुभयो।

नेपालमा उत्पादित ३ वटा मेसिन ३ करोड रुपैयाँदेखि ५ करोड रुपैयाँको मेसिन जापान निर्यात भइसकेको यामातो इन्टरनेसनलका नेपाली सञ्चालक कृष्ण खतिवडाले बताउनुभयो।नेपालमा बनेको मेसिनले फोहोरमा भएका टिन,फलाम लगायतका बस्तु छानेर अलग गर्ने काम गर्दछ।

कुहिने तथा नकुहिने फोहोर प्रशोधन गरेर ऊर्जा उत्पादन, क्लिंकर, पत्थर कोइला र मललगायतका सामग्री उत्पादन हुने खतिवडाले जानकारी दिनुभयो।मेसिनभित्र जडान भएका सिस्टमले फोहोर छान्ने, पिस्ने, सुकाउने र उत्पादन गर्ने कार्य गर्ने हुनाले फोहोर व्यवस्थापन सहजै गर्न सकिने उहाँको भनाइ छ।

मेसिनले प्लाष्टिकजन्य फोहोरलाई जलाउने नभएर रासायनिक प्रक्रियाबाट नष्ट गर्ने भएकाले पनि यो वातावरणमैत्री भएको निर्माण कम्पनीले जनाएको छ।