आज भाईटिका : टीकाको उत्तम साइत बिहान ११:५१ मा

दाजुभाइले पश्चिम फर्केर बस्न र दिदीबहिनीले पूर्व फर्केर टीका लगाउन राम्रो

काठमाण्डौं,कार्तीक,४ –

यमपञ्चकको पाँचौ तथा अन्तिम दिन अाज विधिपूर्वक भाईटिका लगाईदैछ । आजको दिन आफ्ना दाजु तथा भाईलाई यमराजले अल्प आयुमानै नलगोस भन्दै दिदी वहिनीले कहिलै नसुक्ने तेलको घेरा र मखमली मालाले आफ्ना दाजुभाई लाई पुजा गर्ने गर्दछन् ।

आजको दिनमा दिदीबहिनीले दाजु भाईलाई सप्तरंगी टिका लगाइदिनुका साथै दिदी बहिनीले दाजुभाई लाई कटुस, ओखर नरिवल मिष्ठान्न परिकार र सेलरोटी दिने प्रचलन रहेको छ । त्यस्तै आजको दिनमा दिदी बहिनीले दाजुभाई लाई पुजा गरिसकेपछी बिभिन्न खानेकुरा सहित पूजागर्ने चलन छ । दाजुभाईले पनि दिदी बहिनीलाई टिकाका साथमा आफ्नो गच्छ अनुसारको दक्षीणा र उपहार दिने चलन रहिआएको छ ।

परम्मपरा अनुसार भाईटिकाको बिशेषता : चेलीले आफ्नो दाजूलाई टिका लाउँदै गर्दा यमराजको दूत उनको दाजूलाई लिन आईपुग्दछ । यमदूतका अनुसार उनको दाजुको उमेर पुगिसक्यो अनि अब उनको मृत्यू निश्चय छ । ति चेलीले यमदूतलाई टिकाटालो नसकुन्जेलसम्म पर्खिन भन्छिन र टिकाटालोका क्रममा यमदुतलाई पनि सँगै राखेर टिकाटालो पूजा गर्दछिन् ।

यसरी चेलीको श्रद्धा अनि सम्मानबाट खुशी भएका यमदुतले प्रसन्न भएर चेलीलाई वरदान माग्न भन्दा उनले मेरा दाजूलाई नलग्नु भनेर वरदान माँगेर बचाएको अर्थात् चेलीको मायाले दाजूभाईको मृत्युसमेत टर्दछ भन्ने जनविश्वास रहेको छ ।

यमराजले पनि आफ्नो बहिनीसँग यमपञ्चकको पाँचौ दिन टिका लाउँदा बहिनीले वरदानस्वरुप हरेक वर्ष दाजूलाई यसैगरि टिका लगाउन र पुज्न पाँउ भन्ने कुरा मागेकाले भाइटिकाको चलन चलिआएको किंवदन्ति रहेको छ । 

आजको दिन अधिकांशको  निधारहरु सप्तरङ्गीका टिका र मखमली फूलका मालाहरुले सजीएका हुन्छन् । दिदीबहिनी नभएकाहरुले भने कसैलाई दिदीबहिनी मानेर या मठ मन्दिरमा अनि काठमाण्डौको रानी पोखरीमा गएर टिका लगाउने र सामूहिक भाईटिकामा जाने चलन पनि छ ।

अाजको दिन लामो समयदेखि भेटघाट नभएका दाजूभाई तथा दिदीबहिनीको भेटघाट हुँने गर्दछ । एक आपसमा माया अनि सद्भाव साटासाट गर्ने पनि गरिन्छ । आज नेपाल, भारत, भुटान, म्यानमार अनि थाइल्यान्डमा समेत भाईटिका आ-आफ्नै तरिकाले मनाउने चलन छ । भातृत्व अनि आत्मियताको आजको दिन साँच्चैनै अत्यन्त महत्वपूर्ण र रमाईलो हुने गर्दछ । यस महान पर्व तिहारको अाज पाँचौ दिन यमपञ्चकको औपचारीक अन्त्य हुँदैछ । 

यसैगरी : यस वर्षको भाइटीकाको साइत भने आज मध्याह्न ११:५१ मा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले सो समय अभिजित् (विजय) मुहूर्तको साइत दिएको जानकारी दिनुभयो । उहाका अनुसार भाइटीकाका समय दाजुभाइले पश्चिम फर्केर बस्न र दिदीबहिनीले पूर्व फर्केर टीका लगाउन राम्रो हुन्छ । 

यस वर्षको यमपञ्चक अर्थात् तिहार पर्व असोज ३१ गते मंगलबारदेखि शुरु भएको थियो । ३१ गते (कार्तिक कृष्ण त्रयोदशीका दिन) काग तिहार र धनवन्तरी जयन्ती, कात्तिक १ गते बुधबार कुकुर तिहार र नरक चतुर्दशी, २ गते बिहीबार लक्ष्मी पूजा, कात्तिक ३ गते शुक्रबार गाई, गोरु तिहार, कृषक र गोवद्र्धन पूजा एवं आज कात्तिक ४ गते शनिबार भाइटीका मनाइदै छ ।