लकडाउन साउन ७ गतेसम्म लम्व्याउने सरकारको निर्णय

काठमाडौं,असार,१५-सरकारले अहिले कायम स्वरुपकै खुकुलो लकडाउनलाई आउने साउन ७ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।

फाईल : तस्विर

मन्त्रिपरिषद्को सोमबार राति सम्पन्न बैठकले लकडाउनलाई साउन ७ गतेसम्म लम्ब्याउने निर्णय गरेको एक मन्त्रीले बताउनुभयो । हवाइ उडान र सीमा नाका पनि साउन ७ गतेसम्म नै बन्द राखिने निर्णय भएको ती मन्त्रीले जानकारी दिनुभयो।

गत जेठ २८ गते बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनलाई खुकुलो बनाउने निर्णय गरेअनुसार हाल स्वास्थ्य सँग सम्वन्धित सबै सेवा खुला छन् भने सबै प्रकारका कृषि र पशुपक्षी सेवा, उत्पादन र बिक्री खुला गरिएको छ।यस्तै उद्योग, व्यापार, व्यवसाय, पसलहरु, डिपार्टमेन्टल स्टोरहरु खुला गरिएको छ ।

सबै प्रकारका ढुवानी सेवा पनि खुला गरिएको छ भने व्यक्तिहरुको पैदल आवागमन खुल्ला गर्दै जोर बिजोरको आधारमा मोटरसाइकल निजी सवारी साधन सञ्चालन गर्न दिइएको छ । बैंक, बित्तीय संस्था र सहकारी पनि खुल्ला गरिएका छन् ।

तर, जिमखाना, सपिङ मल, समूहमा खेलिने खेलमैदान, सबै प्रकारका धार्मिक तथा सामाजिक स्थलहरु, क्वारेन्टाइनका लागि तोकिएका बाहेकका होटल खोल्न प्रतिबन्ध लगाइएको छ ।

सार्वजनिक सवारी साधन सञ्चालन गर्न दिइएको छैन भने शिक्षण संस्थाहरु खोल्न निषेध गरिएको छ । बैठकले कोरोना संक्रमणको बढ्दो दरबारे पनि समीक्षा गरेको थियो ।

सरकारले कोरोना संक्रमणको जोखिमपछि गत चैत ११ देखि लकडाउन जारी गरेको थियो । तर असार १ गतेदेखि भने लकडाउन खुकुलो बनाइएको हो ।