३२ जिल्लामा आज उल्लासमय मनोनयन दर्ता

कतै वाजागाजा, कतै ज्योतिषीको साइत

काठमाण्डौं,कार्त्तीक,५-

नयाँ संविधान अन्तर्गत पहिलो पटक हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ३२ जिल्लामा आज उम्मेदवारी दर्ता उल्लासमय देखिएको छ। कतै दलहरू बाजागाजासहित निर्वाचन कार्यालय पुगेका छन् ,भने कतै साइत हेराएर मात्र उम्मेदवारी दर्ता गरिएको छ।

रोल्पामा उम्मेदबारी दर्ता गराउदै माओबादी केन्द्रका नेता वर्षमान पुन

पूर्व अर्थमन्त्री बर्षमान पुन ‘अनन्त’ उम्मेदवारी दर्ताका लागि बाजागाजासहित निर्वाचन कार्यालय पुग्नु भएको थियो । उहाँ माओवादी केन्द्रका तर्फबाट रोल्पाबाट प्रतिनिधि सभाको उम्मेदवार रहेका छन्।

उता जाजरकोटमा नेपाली कांग्रेसका उम्मेदवारहरुले भने ज्योतिषबाट साइत हेराएर उम्मेदवारी दर्ता गराएका छन्।

पूर्व अर्थमन्त्री पुनका साथ प्रदेशसभाबाट उम्मेदवारी पाएका माओवादी नेताद्धय कूलबहादुर केसी र दीपेन्द्र पुन पनि छन्। प्रतिनिधि सभामा एकमात्र निर्वाचन क्षेत्र रहेको रोल्पाका प्रदेश सभाका दुवै निर्वाचन क्षेत्रपनि माओवादी केन्द्रले नै पाएको छ।

त्यसमध्ये केसी रोल्पा (क) का उम्मेदवार हुन् भने पुन रोल्पा (ख) का उम्मेदवार बनेका छन्। माओवादी केन्द्रको पकड रहेको रोल्पामा वाम गठबन्धनको प्रमुख घटक दल एमालेको तर्फबाट उम्मेदवार छैनन्।

उम्मेदवारी दर्ताका लागि माओवादी उम्मेदवारहरु वाजागाजा र जुलुशका साथ लिवाङस्थित निर्वाचन आयोगको कार्यालयतर्फ लागेका छन्। उम्मेदवारी दर्ताका लागि गरिएको ¥यालीमा जिल्लास्थित एमालेका नेताकार्यकर्ता पनि सहभागी छन्।

र्‍यालीका सहभागीहरुले राष्ट्रिय झण्डाका अलवा माओवादी केन्द्रको गोलाकारभित्रको हँसिया हथौडा चिन्ह र एमालेको सूर्य चिन्ह अंकित झण्डा बोकेका छन्।

उता, जाजरकोटका कांग्रेस उम्मेदवारहरुले भने ज्योतिषीले जुराइदिएको साइतअनुसार उम्मेदवारी दर्ता गराएका छन्। ज्योतिषीले जुराएको १०.५५ को साइतमा उनीहरुले उम्मेदवारी दर्ता गराएका हुन्।

त्यहाँ प्रतिनिधि सभामा निवर्तमान सांसद राजीवविक्रम शाह र प्रदेश सभाका लागि क निर्वाचन क्षेत्रबाट बेदराज सिंह र ख निर्वाचन क्षेत्रबाट दीपकजंग शाह उम्मेदवार छन्। नेपालखबरबाट