तीन वर्षभित्र नेपाल कृषिजन्य उत्पादनमा आत्मनिर्भर बन्छ : मन्त्री खनाल

काठमाडौं, चैत,६-

कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले तीन वर्षभित्र नेपाललाई कृषिजन्य उत्पादनमा आत्मनिर्भर बनाउने दाबी गरेका छन् ।

आज राजधानीमा रिपोर्टर्स् क्लबद्वारा आयोजित साक्षात्कारमा मन्त्री खनालले नेपाललाई पाँच वर्षभित्र अग्र्यानिक कृषि उत्दानको निर्यातकर्ता देश बनाउने बताउनुभयो ।

कृषि क्षेत्रको उत्पादकत्व बढाएर भारतबाट हुने आयातलाई प्रतिस्थापन गरिने उनको भनाइ थियो ।

मन्त्री खनालले कृषिजन्य वस्तुमा जथाभावी प्रयोग हुने गरेको विषादी रोक्नका लागि मन्त्रालयले नयाँ योजना ल्याउने बताउनुभयो ।

यसअघि बनाइएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले प्रभावकारीरुपमा काम गर्न नसकेको भन्दै उहाँले उक्त परियोजनालाई परिमार्जन गर्नुपर्नेमा जोड दिनुभयो ।

मन्त्री खनालले भूमि व्यवस्थापनका लागि पनि आफूले तत्काल नयाँ काम थाल्ने बताउनुभयो । जथाभावी खन्डीकरण र कित्ताकाट रोक्ने विषयमा पनि सरकारले गृहकार्य गरिरहेको उनको भनाइ थियो ।