बृहत योग एवं आर्युवेद शिविर समापन

इन्द्र कार्की
/महेन्द्रनगर,चैत,२५
    महेन्द्रनगरको खुला मञ्चमा सञ्चालन भएको बृहत योग एवं आर्युवेद शिविर आज एक कार्यक्रमका विच समापन गरिएको छ । योग शिविर भीमदत्तनगर पालिकाको सहयोगमा पतन्जली योग समिति कञ्चनपुरले यहि चैत २१ गते देखि आयोजना गरेको हो ।

पाँच दिन सम्म चलेको योग शिविरमा विहान ५ वजे देखि ७ वजे सम्म योगका विभिन्न आसन, प्रणायाम तथा विधिहरुका वारे सहभागीहरुलाई सिकाईएको थियो । शिविरमा पतन्जली योग समितिका केन्द्रिय सदस्य लवराज भट्ट प्रमुख प्रशिक्षक रहेका थिए । नियमित योग,आसन,प्रणायाम गरे स्वस्थ र निरोगी भई वाँच्न सकिने मान्यताका साथ “हामी पनि योग गरौँ र अरुलाई पनि योग गराऔँ” भन्ने उदेश्यले शिविर आयोजना गरिएको वताइन्छ ।

योग शिविरमा नियमित सहभागी भएकी सुदिक्षा खरेलले योग ले आफुमा वेग्लै उत्साह भरिएको महसुश गरेको वताइन् । उनले भनिन् “नियमित योग तन र मनका लागि निकै फाइदाजनक रहेछ, अव नियमितता दिन सोचमा छु ।” योग स्वास्थ्यका लागि आवश्यक भएको भीमदत्त नगर पालिका प्रमुख सुरेन्द्र विष्टले वताए । नगर पालिकाले सवै वडामा योग र आर्युवेद शिविरको आयोजना गर्न थालेको साथै नगरपालिकाले योगलाई शैक्षिक पाठ्यक्रममा समावेश गर्नका लागि तयारी गरिरहेको समेत नगर प्रमुखले जानकारी दिए ।