नेपाल सुपर लिगको दोस्रो संस्करण सुरु हुदै,तीन टोली थपिए

टोलीको संख्या १० पुग्यो

काठमाडौं,फागुन,२-नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसइएम) को आयोजनामा हुने नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा तीन टोली थपिएका छन् ।

योसँगै अब एनएसएलमा सहभागी टोलीको संख्या १० पुगेको छ । यसै वर्षको बैशाख-जेठमा भएको पहिलो संस्करणमा ७ टोलीको सहभागिता रहेको थियो ।

आयोजक एनएसइएमले आइतबार पत्रकार सम्मेलनमार्फत थपिएका नयाँ तीन टोलीको घोषणा गरेको हो । जसमा झापा ११ एफसी, स्पोर्टिङ इलाम दि मेची र वीरगन्ज युनाइटेड एफसी रहेका छन् ।

चैत २६ देखि २०७९ जेठ ७ गतेसम्म एनएसएलको दोस्रो संस्करणको पहिलो चरण पोखरा र दोस्रो चरण काठमाडौंमा हुने आयोजकले यसअघि नै जानकारी गराइसकेको छ ।

पहिलो संस्करण कोभिड-१९ को प्रतिकुल अवस्थाका बाबजुद बिना दर्शक दशरथ रंगशालामा भएको थियो । २०७८ वैशाख–जेठमा भएको प्रतियोगितामा ७ टोलीले सहभागिता जनाएका थिए । काठमाडौं रेजर्सले फाइनलमा धनगढी एफसीलाई पराजित गर्दै उपाधि जितेको थियो ।