आगामी आर्थीक वर्षका लागि कुल बजेट १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँ विनीयोजन

काठमाडौं,जेठ,१५-आर्थिक वर्ष २०७७/०७८ का लागि सरकारले बिहिबार १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ।संघीय प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आवको लागि उक्त परिमाणको बजेट विनियोजन गरेको जानकारी दिनुभयो ।

कुल विनियोजनमध्ये चालूतर्फ ९ खर्ब ४८ अर्ब ९४ करोड अर्थात् ६४.४ प्रतिशत, पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड अर्थात् २३.९ प्रतिशत र वित्तीय व्यवस्थातर्फ १ खर्ब ७२ अर्ब ७९ करोड अर्थात् ११.७ प्रतिशत रहेको छ।

आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये राजस्वबाट ८ खर्ब ८९ अर्ब ६२ करोड र वैदेशिक अनुदानबाट ६० अर्ब ५२ करोड व्यहोर्दा ५ खर्ब २४ अर्ब ५० करोड न्यून हुने मन्त्री खतिवडाले जानकारी दिनुभयो ।

उहाॅंका अनुसार सो न्यूनपूर्ति गर्न वैदेशिक ऋणबाट २ खर्ब ९९ अर्ब ५० करोड ऋण जुटाइनेछ।राजस्व परिचालन र वैदेशिक अनुदान तथा ऋण सहायता परिचालन गर्दा पनि नपुग हुने खुद २ खर्ब २५ अर्ब आन्तरिक ऋणबाट व्यहोरिने मन्त्री खतिवडाले बताउनुभयो ।

अर्थमन्त्री डा. खतिवडाले अर्थमन्त्रीका रुपमा लगातार तेस्रो बजेट ल्याएका हुन्। चालू आर्थिक वर्षका लागि उनले गत वर्ष १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख विनियोजन गरेका थिए। जसमध्ये चालूतर्फ ९ खर्ब ५७ अर्ब १० करोड १४ लाख (६२.४ प्रतिशत), पुँजीगततर्फ ४ खर्ब ८ अर्ब ५९ लाख (२६.६ प्रतिशत) र वित्तीय व्यवस्थातर्फ १ खर्ब ६७ अर्ब ८५ करोड ९८ लाख (११ प्रतिशत) विनियोजन गरिएको थियो। 

बजेटमा सरकारले ल्याएका छुट र कार्यक्रमहरु यस्ता छन् ।

सरकारले नयाँ व्यवसाय शुरु गर्ने व्यवसायीहरूलाई २ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने भएको छ ।अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा आगामी आर्थिक वर्ष ०७७/७८को बजेट पेश गर्दै उद्यम गर्न चाहनेलाई ब्याजमा अनुदान दिन सरकारले आगामी आर्थिक वर्षको बजेटमा ५० करोड रूपैयाँ विनियोजन गरेको छ ।अर्थमन्त्री युवराज खतिवडाले बजेट प्रस्तुत गर्दै व्यवसाय सुरु गर्न चाहनेलाई सहुलियत प्रदान गर्न लागिएको जानकारी दिएका हुन् ।

पर्यटन व्यवसायीका लागि ५० अर्बको कोष

त्यस्तै सरकारले पर्यटन व्यवसायीका लागि ५० अर्बको कोष स्थापना गर्ने घोषणा गरेको छ । नेपाल राष्ट्र बैंकले स्थापना गर्ने यो कोषबाट पाँच प्रतिशत ब्याजबाट ऋण लिएर श्रमिकलाई तलब दिन तथा व्यवसाय सञ्चालनका लागि उपयोग गर्नसक्ने छन् ।

त्यस्तै सरकारले सहुलियत ऋण दिनका लागि नेपाल राष्ट्र बैंकमा रहने पुर्नकर्जा कोषको रकम १ खर्ब पुर्याउने घोषणा गरेको छ ।बिजुली तथा खानेपानी महसुलमा उपभोक्तालाई छुट दिने सरकारले घोषणा गरेको छ । बजेटबाट सरकारले कोरोनाबाट प्रभावित भएका उद्योगी व्यवसायीका लागि बिजुलीको डिमान्ड शुल्क छुट दिने तथा कम खपतको समयमा महसुलमा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ ।एक लाखसम्मको सामूहिक कोरोना बीमा गर्दा ५० प्रतिशत दायित्व बेहोर्ने घोषणा गरेका खतिवडाले स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वंयसेविकाको बीमा दायित्व सरकारले बेहोर्ने जानकारी दिनुभयो ।

विदेशमा रहेका तर भिसा अवधि सकिएका, बेरोजगार भएका तथा स्वास्थ्य समस्या भएका नेपालीलाई स्वदेश फर्काउनका लागि बजेट बिनियोजन गरिएको खतिवडाले जानकारी दिनुभयो ।सामाजिक सुरक्षा कोषमा दर्ता भएका श्रमिकको लकडाउन अवधिभरको रकम सरकारले जम्मा गरिदिने भएको छ । यसरी जम्मा भएको रकम व्यवसायीले सापटी लिएर अहिले तलब दिनसक्ने छन् ।

वायुसेवा कम्पनीलाई पार्किङ शुल्क, नवीकरण शुल्क तथा पूर्वाधार शुल्क छुट दिने तथा निर्माण, यातायात तथा पर्यटन क्षेत्रका उद्योगलाई लाग्ने प्रशासनिक शुल्कमा छुट दिने सरकारले घोषणा गरेको छ ।कोरोनाले सिर्जना गरेको व्यावसायिक अवसर छोप्नेहरूका लागि सरकारले ५० करोडको स्टार्टअप कोष बनाउने घोषणा गरेको छ ।

वाणिज्य बैंकका हरेक शाखाले कम्तिमा १० र विकास बैंककाले ५ जनालाई सहुलियत ब्याजको ऋण दिनुपर्ने

वाणिज्य बैंक तथा विकास बैंकका प्रत्येक शाखाले सहुलियत ब्याज दिनुपर्ने व्यवस्था गरिने भएको छ ।आगामी आर्थिक वर्षको बजेट भाषणमा अर्थमन्त्री खतिवडाले वाणिज्य बैंकको एउटा शाखाले कम्तीमा १० जनालाई र विकास बैंकको शाखाले कम्तीमा ५ जनालाई यस्तो सहुलियत ब्याजको ऋण दिनुपर्ने व्यवस्था गरिने घोषणा गरेका हुन् ।राष्ट्र बैंकमार्फत् यस्तो व्यवस्था मिलाइने उहाॅंले बताउनुभयो ।

पुर्ण जानकारीका लागि तल दिएको लिंकमा क्लिक गर्नुहोस् ।

https://youtu.be/1yujRYraYBI