लकडाउन जेठ ३२ गतेसम्म लम्ब्याउने सरकारको निर्णय

आवश्यक ठाॅंउमा सेना परिचालन गर्ने निर्णय

काठमाडौं,जेठ,१८-सरकारले लकडाउन अर्थात् बन्दाबन्दी अरु १२ दिन लम्ब्याउने निर्णय गरेको छ।शनिबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले आगामी जेठ ३२ गतेसम्म लकडाउन कायमै राख्ने निर्णय गरेको हो ।

यसैगरी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले अन्तर्राष्ट्रिय सिमानाका र विमानस्थल असार १६ गते अर्थात अर्थात जुन ३० सम्म बन्द गर्ने निर्णय गरेको छ । यो अवधिमा आउजाउमा कडाई गर्ने निर्णय गरेको छ ।साथै दुई देशको सहमतिमा आउजाउ गर्दा पनि विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार चेकजाँच गरिने सरकारका प्रवक्ता डा. खतिवडाले बताउनुभयो ।

सरकारले पछिल्लो पटक थपेको लकडाउनको समय यही जेठ २० गते सकिदैंछ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको सिफारिसमा सरकारले लकडाउन लम्बाउने निर्णय गरेको हो।बैठकले विदेशमा अलपत्र रहेका नेपालीलाई ल्याउने कार्ययोजना स्वीकृत गरेको एक मन्त्रीले जानकारी दिएका छन् ।

सरकारले विदेशमा अलपत्र रहेका नेपालीलाई उनीहरु रहेको देशस्थित नेपाली दूतावासमा नाम दर्ता गराएर प्राथमिकताका आधारमा स्वदेश फर्काउने छ । नेपाल ल्याएपछि काठमाडौंका होटलमा १४ दिन क्वारेन्टाइनमा राखेर मात्र जिल्ला प्रवेश गराउने योजना सरकारको छ ।

सेना परिचालन गर्ने निर्णय

मन्त्रिपरिषदको बैठकले कोरोना संक्रमण फैलिएको आवश्यक ठाउँमा सेना परिचालन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठक अगाडि सुरक्षा परिषद् बैठक बसेको थियो, त्यसमा सीमा सुरक्षाबारे छलफल भएको थियो । सीमा क्षेत्रबाट आवत जावत बढ्दा संक्रमणको जोखिम बढेकाले सुरक्षा व्यवस्था थप कडाई गर्ने निर्णय गरेको मन्त्री खतिवडाले बताउनुभयो ।