काठमाडौं,भदौ,२६-नेपाली समाजमा विशेष धार्मिक तथा सांस्कृतिक महत्व बोकेको कुशे औंसी अर्थात् बुवाको मुख हेर्ने दिन आज विभिन्न विधि तथा परम्पराअनुसार देश तथा विदेशमा एकै साथ मनाइँदैछ।
यस अवसरमा छोराछोरीले आफ्ना बुवालाई मिठा परिकार तथा उपहार प्रदान गर्दै सम्मान र श्रद्धा व्यक्त गर्ने तथा बुवाबाट आशीर्वाद लिने प्रचलन छ।
बुवाको प्रत्यक्ष दर्शन गर्न सम्भव नभएकाहरूले फोन तथा भिडियो कलमार्फत पनि शुभकामना तथा सम्मान व्यक्त गर्ने गरेका छन्।
नेपाली परम्परामा बुवालाई त्याग, संघर्ष, संरक्षण र मार्गदर्शनका प्रतीकका रूपमा सम्मान गरिन्छ।
जीवनको कठिन यात्रामा सन्तानको भविष्य निर्माणका लागि गरेको योगदानप्रति कृतज्ञता व्यक्त गर्ने विशेष अवसरका रूपमा पनि यस दिनलाई लिइन्छ।
कुशे औंसीका दिन पवित्र कुश घरमा भित्र्याउने तथा दिवंगत पितृहरूको सम्झनामा श्राद्ध, तर्पण र दान गर्ने धार्मिक परम्परासमेत रहेको छ।
बिहानी अनलाईन परिवारको तर्फबाट बुवाको मुख हेर्ने यस विशेष दिनको अवसरमा सम्पूर्ण बुवाहरूमा हार्दिक सम्मान तथा शुभकामना।




