पार्टी परित्याग गरेर आफ्नो पार्टीमा प्रवेश गरेकालाई माओवादीले उचित जिम्मेवारी दिने

काठमाडौं,भदौ,१९-नेकपा माओवादी केन्द्रले विभिन्न पार्टी परित्याग गरेर आफ्नो पार्टीमा प्रवेश गरेकालाई उचित जिम्मेवारी दिने भएको छ ।

विगतमा पार्टी प्रवेश गरेकालाई उचित जिम्मेवारी दिने गरेपनि माओवादीले पछिल्लो पटक पार्टीमा भएको कार्यविभाजनका क्रममा कोही छुटेको भए त्यसलाई सच्याउने प्रतिवद्धता जनाएको छ ।

माओवादी केन्द्रका अनुसार पार्टी केन्द्रले इन्चार्ज अध्यक्ष तथा मातहतका समितिका पदाधिकारीलाई परिपत्र गरेर जिम्मेवारी प्राप्त नपाएका कोही भए विवरण उपलब्ध गराउन निर्देशन पनि गरेको छ ।

पार्टी एकीकरणमा आएर पनि जिम्मेवारी विहीन भएकाहरुबारे ५ दिन भित्र कार्यदललाई नाम र विवरण उपलब्ध गराउन माओवादीले भनेको छ । पार्टी एकतामा आएकाहरुलाई पार्टी समितिमा आबद्ध गर्न र जिम्मेवारी दिने कामलाई पूर्णता प्रदान गर्नका लागि यसअघि नै माओवादीले नेताहरु गिरिराजमणि पोखरेल, वर्षमान पुन र श्रीराम ढकाल रहेको कार्यदल गठन गरेको थियो ।