कोरोनाबाट थप १४ जनाको मृत्यु, १,२०१ जना संक्रमित थपिए

काठमाडौं,भदौ,२७-नेपालमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३३६ पुगेको छ ।

पछिल्लो २४ घन्टामा १४ जनाको मृत्यु भएसँगै मृतकको संख्या ३३६ पुगेको शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिनुभयो ।यो कुल संक्रमितको ०.६३ प्रतिशत हो ।

मृत्यु हुनेहरु काठमाडौंका तीनजना, भक्तपुर र रुपन्देहीका समान दुई/दुईजना तथा पर्सा, सुनसरी, चितवन, तनहुँ, स्याङ्जा, गोरखा र कास्कीका एक/एकजना हुन् ।

हाल देशभर १५ हजार २६० जना सक्रिय संक्रमित रहेका छन् ।पछिल्लो २४ घन्टामा एक हजार २०१ जना संक्रमित थपिएका छन् । जसमा काठमाडौं उपत्यकामा ४३१ जना थपिएका छन् । काठमाडौंमा ३७७, ललितपुरमा ३७ तथा भक्तपुरमा १७ जना थपिएका हुन् ।

त्यसैगरी, मकवानपुरमा १०७, रुपन्देहीमा ८१ तथा मोरङमा ५८ जना थपिएका छन् ।योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ५३ हजार १२० पुगेको छ ।

पछिल्लो २४ घन्टामा ८५२ जना ‘डिस्चार्ज’ भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ३७ हजार ५२४ रहेको छ । यो कुल संक्रमितको ७०.६ प्रतिशत हो ।

हाल संस्थागत ‘आइसोलेसन’मा नौ हजार १०७ तथा ‘होम’ आइसोलेसनमा छ हजार १५३ जना रहेका छन् । देशभर १६० जना ‘आइसीयू’मा तथा २४ जना भेन्टिलेटरमा रहेका छन् ।

पछिल्लो २४ घन्टामा १० हजार १७६ जनाको ‘पीसीआर’ परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।