सन्दीप आबद्द दिल्ली शीर्ष स्थानमा उक्लियो

एजेन्सी,असोज,१८- दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को अंक तालिकामा शीर्षस्थानमा उक्लिएको छ ।
शनिबार राती १६ औं खेलमा दिल्लीले कोलकाता नाइट राइडर्सलाई १८ रनले पराजित गर्दै रोयल च्यालेन्जर्स बेंगलोरलाई नेट रनरेटले पछि पार्दै शीर्षस्थानमा उक्लिएको हो । जितका लागि २ सय २९ रनको विशाल विजयी लक्ष्य पछ्याएको कोलकाताले २० ओभरमा ८ विकेटको क्षतिमा २ सय १० रन बनायो ।

कोलकातालाई जितको लागि अन्तिम ६ बलमा २६ रन चाहिएको थियो । तर अलराउन्डर मार्कस स्टोइनिसले एक विकेट सहित मात्र ७ रन खर्चिदै दिल्लीको जित पक्का गराए । कोलकातालाई अन्तिम २४ बलमा ७८ रन आवश्यक परेको थियो । १७ औं ओभरमा मार्कस स्टोइनिसले तीन छक्का र एक चौका सहित कुल २४ रन खर्चेपछि खेल रोमान्चक बन्न पुगेको थियो ।

१८ औं ओभरमा कागिसो रबाडाले तीन छक्का र एक चौका सहित कुल २३ रन खर्चेपछि अन्तिम १२ बलमा ३१ रन आवश्यक परेको थियो । तर १९ औं ओभरमा एनरिच नोर्टजेले एक प्रमुख विकेट सहित मात्र ४ रन खर्चेपछि दिल्लीले जित हात पारेको हो । १९ औं ओभरको तेस्रो बलमा ठूलो सट खेलेका ओईन मोर्गन शिम्रन हेटमायरबाट ४४ रनमा क्याच आउट भएपछि नतिजा दिल्लीको पक्षतर्फ गएको थियो । मोर्गनले १८ बलमा ५ छक्का र १ चौका प्रहार गरे ।

कोलकातालाई अन्तिम ओभरमा २६ रन आवश्यक परेको थियो । अन्तिम ओभरको पहिलो बलमा मार्कस स्टोइनिसलाई राहुल त्रिपाठ्ठीले चौका प्रहार गरे । तर दोस्रो बलमा उत्कृष्ट योर्कर सहित त्रिपाठ्ठीलाई ३६ रनमा बोल्ड आउट गरेपछि दिल्ली जिततर्फ अघि बढेको थियो । त्रिपाठ्ठीले १६ बलमा ३ चौका र ३ छक्का प्रहार गरे । तेस्रो र चौथौ बलमा एक एक रन दिए । पाँचौ बल डट राख्दा अन्तिम बलमा लेग वाईका रुपमा एक रन दिदै जित पक्का गराए ।

दोस्रो ओभरको दोस्रो बलमा एनरिच नोर्टजे सुनिल नारायणलाई ३ रनमा बोेल्ड आउट गरे । अमित मिश्राले नवौं ओभरको पहिलो बलमा अर्का ओपनर सुभमन गिललाई २८ रनमा विकेटकिपर ऋषभ पन्तबाट क्याच आउट गराए । गिलले २२ बलमा २ चौका र १ छक्का प्रहार गरे । दशौैं ओभरको पाँचौ बलमा आन्द्रे रसेल १३ रनमा क्याच आउट भएपछि कोलकाताको सम्भावना कठिन बनेको थियो । रसेल कागिसो रबाडाको बलमा नोर्टजेबाट ८ बला १ चौका र १ छक्का प्रहार गरे ।

१३ औं ओभरको चौथो बलमा हर्षल पटेलले अर्ध शतक बनाएका नितेश राणालाई ५८ रनमा वैकिल्पिक फिल्डर अक्षर पटेलबाट क्याच गराए । राणाले ३५ बलमा समान ४ चौका र ४ छक्का प्रहार गरे । लगतै अर्को बलमा दिनेश कात्तिक शिखर धवनबाट ६ रनमा क्याच आउट भए । हर्षल पटेलले ४ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए । एनरिच नोर्टजेले ४ ओभरमा ३३ रन खर्चेर ३ विकेट लिए । रबाडाले ४ ओभरमा ५१ रन खर्चेर १ विकेट लिए । अमित मिश्रा र मार्कस स्टोइनसिको नाममा १ विकेट रह्यो ।

त्यसअघि शारजाहमा टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले २० ओभरमा ४ विकेटको क्षतिमा २ सय २८ रन बनाएको थियो । दिल्लीले आन्द्रे रसेलको अन्तिम ओभरमा मात्र ७ रन जोड्न सकेपछि आफ्नो आइपिएल इतिहासकै सर्वाधिक ठूलो इनिङ बनाउन चुकेको थियो ।

यो दिल्लीको सर्वाधिक दोस्रो ठूलो इनिङ हो । जारी प्रतियोगिताको सर्वाधिक ठूलो योगफल हो । दिल्लीले आइपिएल इतिहासमा बनाएको सर्वाधिक ठूलो योगफल २ सय ३१ रन छ । सन् २०११ मा किंग्स इलेभेन पन्जाबबिरुद्ध दिल्लीले ४ विकेटको क्षतिमा २ सय ३१ रन बनाएको थियो ।

कप्तान श्रेयस ऐरले सर्वोत्कृष्ट ब्याटिङ गरे । ऐर ३८ बलमा ७ चौका र ६ छक्का सहित ८८ रनमा अविजित रहे । ऋषभ पन्त १७ बलमा ५ चौका र १ छक्का सहित ३८ रनमा क्याच आउट हुन पुगे । आन्द्रे रसेलको १८ औं ओभरको पाँचौ बलमा ठूलो सट खेल्ने क्रममा शिवम माभीबाट क्याच आउट हुन पुगे । तेस्रो विकेटका लागि पन्त र ऐरले ७२ रनको उत्कृष्ट साझेदारी गरेका थिए ।

शारजाहको छोटो बाउन्ड्रीको दिल्लीका ओपनरले सुरुवात देखिनै फाइदा उठाउँदै आक्रामक ब्याटिङका साथ चौका र छक्का प्रहार गरेका थिए । पहिलो विकेटका लागि ओपनर शिखर धवन र पृथ्वी शा ले ५.५ ओभरमा ५६ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । स्पिनर वरुण चक्रबर्तीको बलमा ठूलो सट खेलेका धवन स्क्विायर लेगमा २६ रनमा ओईन मोर्गनबाट क्याच आउट हुन पुगे । १६ बलमा २ चौका र धवनले २ छक्का प्रहार गरे ।

१३ औं ओभरको चौथो बलमा शा ६६ रनमा क्याच आउट हुन पुगे । कमलेश नगरकोटीको बलमा सुभमन लिगले क्याच लिदै शा लाई ४१ बलमा ४ चौका र ४ छक्का प्रहार गरे । दोस्रो विकेटका लागि शा र ऐरले ७३ रनको साझेदारी गरेका थिए । मार्कस स्टोइनिस १ रनमा आउट भए । शिम्रन हेटमायर ७ रनमा अविजित रहे ।

प्याट कमिन्सले ४ ओभरमा ४९ रन खर्चिदा विकेटविहिन बने । बरुणचक्रबर्तीले ४ ओभरमा ४९ रन खर्चेर १ विकेट थिए । आन्द्रे रसेलले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिए । कमलेश नगरकोटीले ३ ओभरमा ३५ रन खर्चेर १ विकेट लिए ।

दिल्लीले पहिलो खेलमा किंग्स इलेभेन पन्जाबलाई सुपर ओभरमा हराएको थियो । चेन्नई सुपर किंग्सलाई ४४ रनले पराजित गर्दा दिल्ली सनराइजर्स हैदराबादसँग १५ रनले पराजित हुन पुगेको थियो । पाँचौ खेलमा दिल्ली बेंगलोरसँग सोमबार दुबईमा खेल्ने छ ।

कोलकाता पहिलो खेलमा मुम्बई इन्डियन्ससँग ४९ रनले पराजित भएको थियो । दोस्रो खेलमा हैदराबादलाई ७ विकेटले हराएको थियो । तेस्रो खेलमा राजस्थान रोयल्सलाई ३७ रनले पराजित गरेको थियो । कोलकाताले पाँचौ खेलमा बुधबार आबूधाबीमा चेन्नई सुपरकिंग्ससँग खेल्ने छ ।

योसँगै दिल्ली चार खेलमा ३ मा जित र १ मा हार सहित शीर्षस्थानमा छ । दोस्रो स्थानमा रहेको बेंगलोरले ४ खेलमा ३ मा जित र १ मा हार बेहोरेको छ । मुम्बई ४ खेलमा समान २ मा जित र २ मा हार सहित तेस्रो स्थानमा छ ।हाम्रो खेलकुदबाट