नेपालीको दोस्रो ठूलो चाड तिहार सुरु,आज कागको पूजा गरिँदै

फाईल : तस्विर !

काठमाडौं,कार्तिक,२८-कार्तिक कृष्ण त्रयोदशीदेखि शुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अन्तर्गत आज कागको पूजा गरिँदैछ ।

पञ्चाङ्ग निर्णायक समितिका अनुसार तिथी अनुसार यमदीप भने हिजै गरिएको छ । यस अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ।

यसैगरी धन्वन्तरि जयन्ती र धनतेरस पर्व पनि आजै परेको छ । तिथिको घटबढका कारण यस्तो भएको समितिले जनाएको छ । यमदीपदान परिवारका सदस्य संख्याका आधारमा गरिन्छ ।

कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि छ ।

कात्तिक २९ गते शनिबार बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा गर्नुपर्छ ।

अपराह्न १:४९ बजेसम्म कार्तिक कृष्ण चतुर्दशी र त्यसपछि औंशी तिथि लाग्ने भएकाले शास्त्रसम्ममत रुपमा पर्वसम्बन्धी निर्णय गरिएको समितिका सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो ।

गाई, गोरु र आत्म (म्ह) पूजा कात्तिक ३० गते आइतबार गर्नुपर्ने शास्त्रीय वचन छ । आइतबार बिहान ११ बजेर २७ बजेसम्म औँशी तिथि छ ।

त्यसपछि कार्तिक शुक्ल प्रतिपदा प्रारम्भ हुने भएकाले म्हपूजा यसै दिन गर्नुपर्ने हुन्छ । मंसिर १ गते सोमबार तिहारको मुख्य दिन भाइटीका पर्व मनाइन्छ ।

बिहान ११ बजेर ३७ बजे भाइटीकाको साइत उत्तम रहेको समितिले जनाएको छ । भाइटीकाकै दिन यस वर्ष नेपाल संवत्को नयाँ वर्ष मनाउनुपर्ने पनि समितिले जनाएको छ ।

प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचनअनुसार यस्तो निर्णय गरिएको उहाले बताउनुभयो । यसै दिनदेखि नेपाल संवत् ११४१ सुरु हुन्छ ।