प्रधानमन्त्री ओली आज चीनसँग सीमा जोडिएको किमाथांका जाँदै

काठमाडौं,कार्तिक,२६-प्रधानमन्त्री केपी शर्मा ओली आज (बुधबार) बिहान चीनसँग सिमाना जोडिएको संखुवासभा जानु हुने भएको छ।

संखुवासभा जिल्ला प्रशासन कार्यालयका अनुसार प्रधानमन्त्री ओलीको भ्रमणका लागि जिल्लामा तयारी तीव्र पारिएको छ।

प्रधानमन्त्री ओली हेलिकप्टरमार्फत अहिले बिहान साढे ८ बजे चीनसँग सिमाना जोडिएको उत्तरी क्षेत्रको किमाथांका पुग्ने कार्यक्रम छ।

प्रधानमन्त्री ओलीले त्यहाँ चीनसँग नाका जोडिएको भोटखोला गाउँपालिका १ मा पर्ने किमाथांकाका साथै सीमा सुरक्षा पोस्ट (बीओपी) का लागि निर्माणधीन भवन, भन्सार कार्यालय र सुक्खा बन्दरगाहलगायत अवलोकन गर्ने कार्यक्रम छ।

यसैगरी प्रधानमन्त्री ओलीले बहुचर्चित ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको पनि अनुगमन गर्नुहुनेछ ।