सर्वदलीय बैठक दिउँसो बस्दै:राजावादीहरुको आन्दोलन प्रति दलहरुको चासो

फाईल तस्विर!!

काठमाडौं,मंसिर,२३-प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार सर्वदलीय बैठक बोलाउनु भएको छ ।

बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाउनु भएको पधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभएको हो ।

थापाले सामाजिक सञ्जालमा समसामयिक राष्ट्रिय राजनीतिका विषयमा छलफल गर्न संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको बैठक प्रधानमन्त्री ओलीले आयोजना गर्नुभएको उल्लेख गर्नुभएको छ ।

पछिल्लो समय देशभर राजावादीहरुको आन्दोलन बढेसँगै यसबारे प्रमुख राजनीतिक पार्टीहरुको चासो व्यक्त हुन थालेको सन्दर्भमा ओलीले सर्वदलीय बैठक आह्वान गर्नुभएको हो ।गत शनिबारमात्रै प्रधानमन्त्रीको गृह जिल्ला झापासहित देशका विभिन्न स्थानमा राजावादीहरुको बाक्लो उपस्थितिमा प्रदर्शन भएको छ ।

कोरोना महामारीका बीच नै गणतन्त्रमाथि प्रश्न उठाउँदै ठूलो संख्यामा युवाहरु सडकमा आएपछि तरंग उत्पन्न भएको छ ।नेकपाको स्थायी समिति बैठकमा समेत यसबारे नेता जनार्दन शर्माले छलफलका लागि ‘विशेष प्रस्ताव’ पेश गर्नुभएको थियो ।

यता प्रमुख विपक्षी दल नेपाली काँग्रेसले पनि सर्वदलीय बैडकमा पेश गर्ने आफ्ना एजेण्डाहरु टुंगो लगाएको छ ।सर्वदलीय बैठक बस्ने आव्हान भएपछि आफ्नो पार्टीको तर्फबाट एजेण्डा पेश गर्न काँग्रेस सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरुको बैठक बोलाउनु भएको थियो ।

नेपाली काँग्रेसका नेता बालकृष्ण खाणले बैठकमा कांग्रेसले कोरोनाको रोकथाम र नियन्त्रणमा सरकार पूर्ण असफल भएको, भ्रष्टाचार बढेको, सरकारका गतिविधिका कारण जनतामा निराशा छाएको र बेरोजगारीको समस्या बढेका विषयमा सरकारलाई ध्यानाकर्षण गराउने जानकारी दिनुभयो ।

त्यस्तै कांग्रेसले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामाथि आँच आउन नदिन सरकारलाई सचेत गराउने नेता खाणले बताउनुभयो ।