एनआरएनए आइसीसी युवा संयोजकमा सुपेन्द्र घिसीङले उम्मेदवारी दिने

फाईल तस्विरमा : एनआरएनए आइसीसी युवा संयोजक पदका उमेदवार सुपेन्द्र घिसीङ !!

टोकियो,जापान,साउन,३२-गैर आवासीय नेपाली संघ (एनआरएनए)अन्तर्राष्ट्रिय समन्वय परिषद्को आगामी कार्यकालका लागि युवा संयोजक पदमा सुपेन्द्र घिसिङले उम्मेदवारी दिनु हुने भएको छ।

आगामी ३० असोजदेखि ३ कात्तिकसम्म (१७ अक्टोबर–२० अक्टोबर, २०२३) मा काठमाडौंमा हुने गैरआवासीय नेपाली ११ औं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनका लागि वर्तमान एनआरएनए आईसीसी सदस्य घिसिङले उम्मेदवारी दिने घोषणा गर्नुभएको हो।उहाँले एक औपचारिक कार्यक्रममार्फत उम्मेदवारी घोषणा गरिने ग्लोबल मिडियासँग बताउनुभयो।

विगत १६ वर्षदेखि जापानलाई आफ्नो कर्मभूमि बनाएर एनआरएनएको अभियानमा निरन्तर सक्रिय उहाँ काभ्रेपलाञ्चोकमा जन्मिनु भएको हो।घिसिङ एनआरएनए जापानमा २०१४ मा प्रवेश गर्दै क्षेत्रीय कमिटी, एनसीसी र हाल आईसीसी सदस्यमा भारी मतले विजयी हुनुभएको हो।

उहाँ काभ्रेली समाज जापान, तामाङ समाज जापान र जनजाति महासंघ जापानका विभिन्न पदको जिम्मेवारी वहन गर्दै अन्य विभिन्न संघसंस्थाको सल्लाहकारको भूमिकामा सामाजिक कार्य गर्दै आउनुभएको छ।त्यस्तै एनआरएनएको विभिन्न टास्कफोर्समा बसेर आफ्नो कार्य क्षमता प्रस्तुत गरिसक्नुभएको छ।

नेपालमा २०७२ सालमा गएको महाभूकम्पमा आफूले आर्थिक सहयोग गर्नुको साथै आर्थिक संकलन अभियानमा समेत उहाँ सक्रिय हुनुभयो।कोभिड-१९ मा पनि उहाँले नेपालको लागि र जापानमा रहेका नेपालीहरुलाई आर्थिक सहयोग र खाद्य सामग्री वितरणका साथै सूचना सम्प्रेषणमा समेत सक्रिय हुनुभयो।त्यसै बखत नेपालमा अक्सिजनको अभावमा भएको बेला अक्सिजन पुर्‍याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो।नेपालमा दिनदु:खी, अपांगता भएकाहरुलाई सहयोग गर्नुको साथै प्राकृतिक प्रकोप आदिमा निरन्तर सहयोग गर्दै आइरहनुभएको छ।

उहाँको जापानमा घिसिङ कम्पनी लिमिटेडमार्फत ताज ब्रान्ड होटल व्यवसाय र Ging लिमिटेडअन्तर्गत जापानमा मेनपावर र रियल स्टेट व्यवसाय गर्दै आइरहनुभएको छ।थ्रीजी बिलडर्स कम्पनीमार्फत कन्ट्रक्सन र होटेल व्यवसाय पनि उहाँ संलग्न हुनुहुन्छ।

एनआरएनएका विभिन्न तह र तप्कामा रहेर कुशलतापूर्वक जिम्मेवारी निभाइसक्नुभएका घिसिङले एनआरएनए अभियानमा लागिरहँदा युवापुस्ताका मुद्दालाई स्थापित गर्न, दोस्रो पुस्ताका नेपालीलाई एनआरएनएमा आकर्षित गर्ने, विदेशमा रहेका श्रमिकको आवाज बुलन्द बनाउने प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ।

उहाँले विभिन्न देशमा छरिएर बसेका नेपाली युवाहहरुलाई स्वरोजगार बनाउने पहल, सामूहिक लगानी, सिप र पुँजीको सदुपयोग गर्दै एनआरएनएमा युवाहरुको आकर्षण बढाउने, सुरक्षित र मर्यादित वैदेशिक रोजगार बनाउन पहल गर्ने, एनआरएनए स्पोर्ट्स एकेडेमीलाई दीर्घकालीन योजनासहित स्थापित गराउने, उच्च शिक्षाको लागि विदेसिएका विद्यार्थीहरुलाई सही मार्गदर्शन दिने र दोस्रो पुस्तालाई एनआरएनएमा आबद्ध गराई नेपालसँग जोड़ने लगायतका प्रमुख उद्देश्य रहेको जानकारी गराउनुभएको छ।