एसीसी महिला टी-ट्वान्टी:फाइनल पुग्न नेपाल र युएई भिड्दै

काठमाडौं,असार,१०-एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा आज शुक्रबार नेपालले बलियो टोली युएईको सामना गर्दैछ ।

मलेसियाको किनरारा ओभलमा नेपालले युएईको सामना गर्नेछ । नेपाल र युएईबीचको खेल बिहान ८:१५ बजे सुरु हुनेछ ।

आज नेपाल युएईलाई हराउँदै फाइनल पुग्न चाहन्छ । युएई पनि नेपाललाई हराएर फाइनल पुग्न चाहन्छ । त्यसैले खेल रोमान्चक हुने अनुमान गरिएको छ ।अर्को सेमिफाइनलमा हङकङ र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ ।

च्याम्पियनसिपको फाइनल शनिबार हुनेछ । फाइनल पुग्ने दुई टोली महिला टी-ट्वान्टी एसिया कप क्रिकेटमा छनोट हुनेछन् ।

नेपाल र युएईबीच यस अघि ३ पटक प्रतिस्पर्धा भएको छ । जसमा दुई खेल नेपाल र एक खेल युएईले जितेको छ ।

युएईले समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा नेपालसँगको भेट पक्का गरेको हो ।युएईले ४ खेलमा ७ अंक जोड्यो । मलेसिया ६ अंक जोडेर समूह उपविजेता बन्यो ।

नेपाल समूह ‘बी’ को उपविजेता बनेर सेमिफाइनल पुगेको हो । नेपालले ४ खेलमा ६ अंक जोडेको थियो ।

नेपालले भुटान, कुवेत र बहराइनलाई हराउँडा हङकङसँग पराजित भएको थियो ।यस समूहबाट हङकङ ८ अंक जोडेर समूह विजेता बनेको थियो ।