प्रचण्ड-माधवलाई ओलीको चुनौती : प्रधानमन्त्रीबाट हटाएर देखाउनुहोस्

काठमाडौं,फागुन,१६-प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्रीबाट हटाएर देखाउन प्रचण्ड-नेपाललाई चुनौती दिनुभएको छ।

आइतबार गृहजिल्ला झापामा नेपाल-चीन मैत्री औद्योगिक पार्क शिलान्यास गर्दै प्रधामन्त्री ओलीले मुद्दा लडेर संसद फिर्ता ल्याएजस्तै आफूलाई अविश्वसको प्रस्ताव राखेर हटाउन चेतावनी दिनुभएको हो। उहाँले आफूलाई अविश्वासको प्रस्ताव राखेर हटाए जनतामा गएर दुईतिहाइ ल्याइदिने बताउनुभयो ।

ओलीले भन्नुभयो ‘उहाँहरु मसँग हात थाप्न थाल्नुभएको छ राजीनामा गरिदिनुहोस् भनेर। तपाई‌हरुले लडेर जब संसद फिर्ता गरेर ल्याउनुभएको छ भने केपी ओलीलाई पनि हटाएर देखाउनुहोस् न’, ‘अविश्वासको प्रस्ताव राख्नुहोस्, पास गर्नुहोस्। पहिले पनि अविश्वासको प्रस्ताव राखेर हटाएको हो, म जनताबाट निर्वाचित भएर आएको हुँ। अहिले पनि तीन करोड नेपाली जनताबाट दुई तिहाइ ल्याएर देखाइदिन्छु।’भन्दै उहाँले जिकिर गर्नुभयो ।

उहाँले आफू मुद्दा जितेर नभई जनताबाट निर्वाचित भएर, जनताको आशीर्वाद लिएर प्रधानमन्त्री भएको बताउँदै मुद्दा हार्दैमा आफूलाई केही फरक नपर्ने बताउनुभयो।

उहाँले अगाडी भन्नुभयो ‘मत जिन्दगीमा मुद्दा हार्दै आएको मान्छे हु, उहिले पनि मुद्दा हारेकै हो। गल्ती नगर्ने, मुद्दा हार्ने, गल्ती नगर्ने, मुद्दा हार्ने कुरा निरन्तर भोगेकै हो’,त्यसैले,म ‘कसैले मुद्दा जिताइदिएर प्रधानमन्त्री भएको होइन। मलाई तीन करोड नेपाली जनताले प्रधानमन्त्री बनाइदिएको बताउनु भएको थियो ।

उहाँले आफूहरुले बलिदानी गरेर ल्याएको लोकतन्त्रलाई तलमाथि पर्न नदिने पनि बताउनु भएको थियो ।