प्रधानमन्त्री देउवालाई दिए माधव नेपालले बधाई

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिँदै नेकपा (एमाले) वरिष्ठ नेता माधवकुमार नेपाल । । तस्बिर : प्रदिपराज वन्त, रासस

काठमाडौं,असार,२९-नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई एमाले वरिष्ठ नेता माधवकुमार नेपालले शीतल निवास पुगेर बधाई दिनुभएको छ।

पूर्वप्रधानमन्त्रीसमेत रहनु भएका एमाले वरिष्ठ नेता नेपालले हात मिलाएरै बधाई दिनुभएको हो । कार्यक्रम प्रस्तोताले सामाजिक दूरी कायम गरेर बधाई दिन अनुरोध गरे पनि वरिष्ठ नेता नेपालले हात मिलाएर बधाई दिनुभएको थियो ।

अन्य अथिति र पूर्वप्रधानमन्त्रीले भने नमस्कार गरेर देउवालाई बधाई दिएका थिए। मंगलबार दिउँसो प्रधानमन्त्री नियुक्त भएका देउवाले नेपालको संविधानको धारा ८० बमोजिम प्रधानमन्त्री पदको पद तथा गोपनीयताको शपथ लिएका हुन्। 

त्यसैगरी नवनियुक्त चार मन्त्रीले समेत संविधानको धारा ८० बमोजिम शपथ लिएका हुन्।  राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा (९) बमोजिम देउवाको सिफारिसमा मन्त्रिपरिषद्को कार्यविभाजन गरेकी छन्। 

नवनियुक्त मन्त्रीमा बालकृष्ण खाँडले गृह मन्त्रालयको जिम्मेवारी पाएका छन् भने कांग्रेसका अर्का नेता ज्ञानेन्द्रबहादुर कार्की कानुन, न्याय तथा संसदीय मामिला मन्त्री बनेका छन्। 

माओवादी केन्द्रको तर्फबाट जनार्दन शर्माले अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन् भने  पम्फा भुसाल ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बनेकी छन्। 

तस्बिर :  प्रदिपराज वन्त, रासस