आजदेखि बिन्ध्यबासिनी हाइड्रोपावरको आईपिओ बिक्रि खुला

काठमाडौं,जेठ,२०-बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आज शुक्रबारदेखि सर्बसाधारणलाई आईपिओ बिक्रि खुला गरेको छ ।

कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका १५ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो ।

निष्काशन गरिने कुल शेयरमध्ये ४ प्रतिशत अर्थात ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ७५ हजार कित्ता शेयर सामूहिक लगानी कोषमा बाँडफाँट गरिएको छ । सर्वसाधारणले बाँकी १३ लाख ६५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सकिने छ । आईपिओमा छिटोमा जेठ २५ गते र ढिलोमा असार ३ गतेसम्म आवेदन दिन सकिने छ । शेयर निष्काशनको लागि सानिमा क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै मेरो शेयर एप तथा वेबसाइटबाट पनि आवेदन दिन सकिनेछ ।

कम्पनीले यस अघि पहिलो चरणमा लमजुङ र कास्कीका स्थानीयलाई १० करोड मूल्यका १० लाख कित्ता सेयर निष्काशन गरेको थियो । कम्पनीले कास्कीको रुदी खोलामा रुदी ए र रुदी बि गरि कुल १५.४ मेगावाटको आयोजना संचालन गरिरहेको छ ।