आगामी निर्वाचनमा माओवादीसँग तालमेल गर्ने एमाले स्थायी समितिको निर्णय

काठमाण्डौं,असोज,१५-

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आउँदो प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा सत्ता साझेदार नेकपा माओवादी केन्द्रसँग तालमेल प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ। एमाले स्थायी समितिको आइतबार बिहान बसेको बैठकले वामपन्थी पार्टीहरुसँग मोर्चा बनाएर अघि बढ्ने निर्णय गरेको सचिव योगेश भट्टराईले जानकारी दिनुभयो ।

स्थायी समितिको बैठकमा मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभाको चुनावमा पार्टीले अपनाउने रणनीतिबारे छलफल भएको थियो। नेताहरुले त्यससम्बन्धमा आआफ्ना धारणा राखेको थिए ।

‘बैठकमा वामपन्थी, प्रगतिशील र देशभक्त पार्टीहरुसँग एकता गर्ने निर्णय भएको छ,’ सचिव भट्टराईले नेपालखबरसँग भने, ‘त्यस्ता पार्टीहरुसँग तालमेल गरेर बहुमत ल्याउने रणनीति तयार गरिएको छ।’

आगामी मंसिरमा हुने चुनावमा बहुमत ल्याउने गरी व्यापक तयारी गर्ने निर्णय पनि भएको सचिव भट्टराईले जानकारी दिनुभयो ।