श्रीलंकाका प्रधानमन्त्रीले सहमतीमा पार्टीका नेताहरू समक्ष राजीनामा दिने

राष्ट्रपति गोटाबाया राजापाक्षे सुरक्षित स्थान तर्फ !!

एजेन्सी,आषाढ,२६-श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रेमसिङ्घेले राजीनामा दिन सहमत हुनुभएको छ ।

शनिबार राष्ट्रपति निवास र कार्यालयमा प्रदर्शनकारी प्रवेश गरी तोडफोड समेत गरेपछि उहाँले सर्वदलीय बैठकको अह्वान गर्नुभएको थियो ।

प्रदर्शनकारीले देशका विभिन्न सहर तथा राजधानीमा गरेका प्रदर्शनमा जनसहभागिता उल्लेख्य देखिएको थियो ।

राजधानीमा भएको प्रदर्शनको एक समूह राष्ट्रपतिको कार्यालयमा प्रवेश गरी राष्ट्रपति र प्रधानमन्त्री दुवैजनाको राजीनामा माग गरेका थिए ।

सर्वदलीय बैठकपछि प्रधानमन्त्री कार्यालयबाट जारी एक वक्तव्यमा विक्रमसिङ्घेले नयाँ सरकार गठनका लागि सबै दलले सहमति जनाउँदा पार्टी नेताहरूलाई राजीनामा दिने बताउनुभएको उल्लेख गरिएको छ ।

यसैबिच: दशौं हजार प्रदर्शनकारीहरूले प्रदर्शनका लागि लगाइएको प्रतिवन्ध तोडेर राष्ट्रपति गोटबाया राजपाक्षको निवास र कार्यालयमा प्रवेश गरी नाराबाजी गरेका थिए ।

राष्ट्रपति गोटाबाया राजापाक्षे सुरक्षित स्थानमा गएको भनिएको छ, तर कहाँ छन् भन्ने नखुलेको श्रीलंकन सञ्चारमाध्यम डेली मिररले जनाएको छ ।

आर्थिक रुपमा टाट पल्टिएको श्रीलंकामा बढ्दो महँगी र अत्यावश्यकीय वस्तुको चर्को अभाव छ । देशको विद्यमान आर्थिक संकटका लागि राष्ट्रपति गोटाबायालाई जिम्मेवार मान्दै उनको राजीनामा मागेर लामो समयदेखि आन्दोलन भइरहेको छ ।

यो अवधिमा प्रधानमन्त्री महिन्दा राजापाक्षेले राजीनामा दिएपछि रनिल विक्रमासिंघे प्रधानमन्त्री बने, तर आन्दोलन रोकिएन । आर्थिक संकटसँगै तनाव बढ्दै गयो ।

शनिबार बढ्दो महँगीका साथै खाद्यान्न, इन्धन र औषधि अभावको विरोधमा र्‍याली आह्वान गरिएको थियो । प्रदर्शनलाई विपक्षी दल, ट्रेड युनियन, विद्यार्थी, किसान संगठन लगायतले समर्थन गरे ।

सरकारले भने प्रदर्शन रोक्ने उद्देश्यले शुक्रबार राति ९ बजेदेखि अनिश्चितकालीन कर्फ्यू घोषणा गर्दै नागरिकलाई घरमै बस्न भन्यो । सडकमा सेना र प्रहरी तैनाथ गरिएको थियो ।

तर विपक्षी दल र आम नागरिकले विरोधपछि सरकारी कर्फ्यू हट्यो भने शनिबार बिहानैदेखि देशका विभिन्न भागबाट मानिसहरु कोलम्बोमा जम्मा हुन थाले । मानिसहरु रेल, बस, ट्रक जस्ता यातायातका साधन चढेर कोलम्बो आएका थिए ।

करिब दिउँसो १ बजेतिर प्रदर्शनकारी राष्ट्रपतिको सरकारी निवास परिसरमा देखिए । केहीबेरमै ठूलो भीड जम्मा भयो । केही प्रदशर्नकारी मेन गेटमा चढेर परिसरमा घुसे ।

प्रदर्शनकारीलाई रोक्न सुरक्षाबलले अश्रुग्याँस, पानीको फोहोराका साथै गोलीसमेत हानेको थियो । केही मानिस घाइते पनि भएका छन् । तर सुरक्षा बलको घेरा तोड्दै प्रदर्शनकारीले राष्ट्रपति भवन कब्जा गरेका छन् ।

स्वीमिङ पुलमा नुहाए, बिछ्यौनामा सेल्फी

गोटा गो होमको नारा लगाएर राष्ट्रपति कार्यालय प्रवेश गरेका प्रदर्शनकारी भान्सा र बेडरुममा समेत प्रवेश गरेका थिए । सार्वजनिक भएको भिडियो फुटेजहरुमा कतिपय प्रदर्शनकारीले राष्ट्रपतिको बिछ्यौनामा सुतेर सेल्फी लिएको देखिन्छ ।

कतिपय प्रदर्शनकारीले भने राष्ट्रपति कार्यालय परिसरमा रहेको स्वीमिङ पुलमा नुहाएका छन् ।

उनीहरूले वर्तमान नेतृत्वले श्रीलंकाको आर्थिक, इन्धन तथा अन्य क्षेत्रमा देखिएको सङ्कटको समाधान दिन नसकेको भन्दै नाराबाजी लगाएका थिए । स्रोत: विभिन्न संचार माध्यमबाट