आज नवरात्रको छैठौं दिनः कात्यायनी देवीको पूजा गरिदैं

काठमाडौं,असोज,१५-आज नवरात्रको छैठौं दिन विभिन्न शक्तिपीठ र घरमा कात्यायनी देवीको पूजा आराधना गरिन्छ। हिन्दूहरुकी देवी नवदुर्गाको छैठौं स्वरुप कात्यायनी हो। अमरकोषमा पार्वतीको दोस्रो नामलाई कात्यायनी भनिएको छ।

स्कन्द पुराणका अनुसार परमेश्वरको नैसर्गिक क्रोधबाट कात्यायनी उत्पन्न भएको उल्लेख छ। उनैले सिंहमाथि सवार भएर महिषासुर नामक राक्षसको बध गरेको शास्त्रहरुमा उल्लेख छ।

कात्यायनी माताको श्रद्धा एवं भक्तिले गरेको पूजा एवं पाठका प्रभावले अविवाहिताहरूको यथाशीघ्र विवाह हुने र उपासना गरे एकदमै सरलता पूर्वक अर्थ, धर्म, काम तथा मोक्षलाई प्राप्त गर्न सकिन्छ र जन्म जन्मान्तरको पाप नष्ट हुने शास्त्रोक्त कथन रहेको छ। कात्यायनीलाई विशेष गरी गुलियो परिकारहरू प्रिय छन्।