भारतिय प्रहरी डोटी प्रहरीको नियन्त्रणमा

इन्द्र कार्की
महेन्द्रनगर,जेठ,१९ अनधिकृत रुपले डोटी पुगेर नेपालीलाई पक्राउ गर्ने भारतीय प्रहरी टोली नेपाल प्रहरीको थुनामा परेको छ । डीएसपीको नेतृत्वमा रहेको टोली बुधबार मध्यराति नेपालीलाई अपहरण शैलीमा पक्राउ गर्ने भारतीय प्रहरी समूहलाई डोटी प्रहरीले थुनामा राखेको हो । भारतीय प्रहरी टोलीले डोटी दिपायल सिलगढी नगरपालिका–८ लडागडा निवासी लालबहादुर आउजीलाई मध्यरातमा पक्राउ गरेको थियो । स्थानीयवासीका अनुसार भारतमा काम गर्ने लडागडाकै प्रसाद पार्कीलाई लिएर राति २ बजे भारतीय प्रहरीले घरमा सुतेका लालबहादुरलाई अपहरण गरी लगेका थिए । ‘प्रसाद पार्कीले मध्यरातमा ढोका ढक्ढक्याएपछि लालबहादुरकी श्रीमतीले ‘को हो’ भनी सोध्दा उनले आफ्नो परिचय दिएपछि ढोका खोलिन्,’ एक स्थानीयले भने, ‘ढोका खोल्नासाथ उक्त समूह भित्र पसी लालबहादुरलाई हातखुट्टा बाँधी, मुखमा पट्टी लगाएर जबर्जस्ती गाडीमा हालेर लगे ।’ जिल्ला प्रहरी कार्यालय स्रोतका अनुसार, अपहरण शैलीमा आएका व्यक्तिहरु भारतीय प्रहरीका डिएसपीसहितका सुरक्षाकर्मी हुन् । डोटीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिल्लीराज विष्टले घटनाबारे छानबिन भइरहेको बताए। सुदूरपश्चिम प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक रोमेन्द्रसिंह देउजाले घटनाबारे आफूलाई जानकारी नभएको बताए । ‘मलाई यसबारे अहिलेसम्म कुनै जानकारी आएको छैन,’ उनले भने ।
लालबहादुरलाई बैंकबाट पैसा चोरी गरेको आरोपमा भारतीय प्रहरीले अपहरण गरेको स्रोतले जनाएको छ । उनले बैंक अफ महाराष्ट्र कर्नाटा शाखाबाट १४ लाख ६८ हजार भारु चोरी गरेकाले खोज्न भारतीय प्रहरी डोटी आइपुगेको बताइएको छ । भारतको कर्नाटामा काम गर्ने प्रसाद नाम गरेका व्यक्तिलाई लिएर भारतीय प्रहरी उनको घर खोज्दै डोटीसम्म आइपुगेको थियो । दुई साताअघि मात्रै बैंकबाट पैसा चोरी भएको भनिए पनि लालबहादुर गत असोजदेखि घरमै रहेको पारिवारको दाबी छ । लालबहादुर पहिला उक्त बैंकमा चौकीदार रहेको भारतीय प्रहरीको भनाइ छ ।
यस पटक समेत गरी भारतीय प्रहरी डोटीमा पक्राउ परेको यो दोस्रो घटना हो । यसभन्दा अघि १२ वैशाख ०७३ मा डोटी र अछामको सिमानामा पर्ने चौखुट्टे क्षेत्रबाट पाँचजना भारतीय प्रहरी हतियारसहित पक्राउ परेका थिए । त्यसवेला भारतीय प्रहरी आफ्नै गाडी र हातहतियारसहित आएका थिए । यसपटक भने उनीहरू नेपाली नम्बर प्लेटको गाडी ल्याएर आएका छन् । नियन्त्रणमा रहेका भारतीय प्रहरीसँग हातहतियार हुन सक्ने अनुमान गरिए पनि त्यसबारे केही जानकारी दिइएको छैन । (पत्रपत्रिकाहरुको सहयोगमा)