निर्बाचन भएका आठ जिल्लामा मतगणना सुरु

प्रारम्भिक नतिजा आउन थाल्यो

काठमाडौं, असोज ३-

प्रदेश नम्बर २ मा सोमबार भएको स्थानीय तह निर्वाचनको मतगणना सुरु भएको छ ।निर्वाचन भएका ८ जिल्लाका १ सय ३६ स्थानीय तहमध्ये अधिकांशमा मतगणना शुरु भएको हो । मतपेटिका संकलन गर्ने काम सकिएलगत्तै सोमबार रातिबाटै मतगणना सुरु गरिएको हो ।

केही स्थानीय तहमा भने मतगणना संकलनको काममा ढिलाई हुँदा मंगलबारबाट मत मतगणना शुरु गरिने सम्बन्धित निर्वाचन कार्यालयहरुले जनाएका छन् ।केही स्थानीय तहमा प्रारम्भिक मत परिणाम आउनसमेत थालेका छन्

सिराहाको लाहान, कल्याणपुर, मिर्चैया, धनगढीमाई, कर्जन्हा, गोलबजार नगरपालिकामा मतगणना सुरु भएको छ । त्यसैगरी सिराहाकै लक्ष्मीपुर पतारी गाउँपालिकामा पनि मतगणना जारी छ ।

रौतहटमा ११ वटा स्थानीय तहमा मतगणना शुरु भएको छ । १८ वटा स्थानीय तह रहेको रौतहटमा यमुनामाई गाउपालिकासहित ११ वटा नगरपालिकामा राती १ बजेबाट मतगणना शुरु भएको हो ।

सर्वदलीय सहमतिपछि रौतहटको चन्द्रपुर, गौर, गरुडा, परोहा, फतुवाबिजयपुर, गुजरा, माधवनारायण, बृन्दाबन, बौध्दिमाई, ईशनाथ नगरपालिकामा मतगणना शुरु गरिएको हो ।

अन्य ७ वटा स्थानीय तहमा भने सर्वदलीय सहमतिपछि आजबाट मात्र मतगणना शुरु गरिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

त्यस्तै धनुषाको मिथिला, धनुषाधाम, क्षिरेश्वरनाथ नगरपालिकामा मतगणना सुरु भएको छ भने धनुषाकै जनकनन्दनी, मुखियापट्टी, हंसपुर, औरहीमा पनि गणना जारी छ ।

महोत्तरीका जलेश्वर, गौशाला र बर्दिबास नगरपालिकालगायत आठ स्थानीय तहको मतगणना जारी छ ।

बाराको देवताल, फेटा र बारागढी गाउँपालिकामा मतगणना सुरु भएको छ । तर, कलैया र जितपुर–सिमरा उपमहानगरपालिकामा भने बिहानदेखि मात्र मतगणना शुरु गरिने बताइएको छ ।

सर्लाहीका लालबन्दी नगरपालिकासहित ५ स्थानीय तहको मतगणना जारी छ । मलंगवामा भने मतगणना गर्ने तयारी भइरहेको छ ।

त्यस्तै सप्तरीको खडक नगरपालिका, सप्तकोशी नगरपालिका, तिलाठी, कृष्णसवरन र विष्णुपुरमा पनि मतगणना जारी छ ।

पर्साको पर्सागढी नगरपालिका सहित ६ वटा स्थानीय तहमा गणना सुरु भएको छ । वीरगन्ज महानगरपालिकामा भने मतगणना शुरु गर्ने तयारी भइरहेको छ ।