संविधान जारी भएको दुई वर्ष पूरा

काठमाडौं,असोज,३-

नेपालको संविधान जारी भएको आज दुई वर्ष पूरा भएको छ । संविधान जारी भएदेखि नै यो कार्यान्वयनको चरणमा छ । दुईवटा संविधानसभाको चुनावपछि निकै लामो रस्साकस्सीबिच संविधानसभाका ९० प्रतिशतभन्दा धेरै सभासदको हस्ताक्षरमा २०७२ असोज ३ गते संविधान जारी भएको थियो ।

संविधानले व्यवस्था गरेअनुरूप नै मुलुकमा स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको छ । प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि आगामी मङ्सिर १० र २१ गतेको मिति तय भएको छ । प्रदेश र संघको चुनाव छ्ट्टा छुट्टै गर्नुपर्ने भए पनि घकिँदो समयका कारण राजनीतिक दल र निर्वाचन आयोग दुवै चुनाव एक्कैपटक गर्न सहमत भएका हुन् ।

यी दुई तहको चुनाव हुने सुनिश्चितता भएसँगै संविधान कार्यान्वयनको अध्याय लगभग पूरा हुने क्रममा छ । संविधानले परिकल्पना गरेअनुसार आगामी माघ ७ भित्र राष्ट्रपति, उपराष्ट्रपति र राष्ट्रिय सभाको पनि निर्वाचन सम्पन्न हुने वातावरण सिर्जना भइरहेको छ । संविधान कार्यान्वयनका लागि चाहिने धेरै कानुन रुपान्तरित संसदले पारित गरिसकेको छ ।

शुभकामना
तेस्रो संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, प्रगति र समृद्धिका साथै देशमा राष्ट्रिय एकता, अखण्डता, सहकार्य एवं आपसी सद्भाव कायम हुन सकोस् भनी शुभकामना व्यक्त गर्नुभएको छ ।

संविधान दिवस २०७४ का अवसरमा राष्ट्रपति भण्डारीले दिनुभएको शुभकामना सन्देशमा नेपाली जनताको लामो सङ्घर्ष, बलिदान र प्रतीक्षापछि संविधानसभाबाट निर्मित सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान प्राप्त भएको आजको दिन महŒवपूर्ण ऐतिहासिक दिन भएको उल्लेख गर्नुभएको छ ।

यस्तै, उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानको पूर्ण कार्यान्वयनसँगै राजनीतिक सङ्क्रमण पूर्ण अन्त्य भई देश आर्थिक समृद्धिको यात्रामा द्रुततर गतिमा अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभएको छ । संविधान दिवसका अवसरमा सोमबार देशवासीलाई शुभकामना दिँदै उपराष्ट्रपति पुनले ‘समय परिस्थितिअनुसार संविधान पनि अझै समृद्ध बन्दै जाने विश्वास’ व्यक्त गर्नुभएको छ ।

यसैगरी : प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान दिवसले हामी सबैलाई आफ्नो अधिकार र कर्तव्यप्रति सचेत रहँदै राष्ट्रिय एकता र समृद्धिको मार्गमा हिँड्न प्रेरित गरोस् भन्ने कामना गर्दै यस अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गर्नुभएको छ ।

आज शुभकामना सन्देश दिँदै उहाँले नेपालको संविधान लोकतान्त्रिक मूल्यमान्यता, समावेशिता र नागरिक अधिकारको सन्दर्भमा विश्वकै उत्कृष्ट रहेको उल्लेख गर्नुभएको छ ।

यस्तै : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान दिवसका अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै नेपाली जनताले आ– आफ्नो अधिकार प्रत्याभूत हुने गरी जारी गरेको संविधानले सार्वभौमसत्ता र स्वाधीनता प्रकट गरेको बताउनुभएको छ ।

संविधानले मुलुकमा शान्ति र स्थायित्व सुनिश्चितता गर्दै भविष्यको विकास र समृद्धिका लागि स्पष्ट मार्गदर्शन गरेको छ भन्दै उहाँले संविधान कार्यान्वयनको महत्वपूर्ण चरणमा स्थानीय निर्वाचनमा उत्साहपूर्ण जनसहभागिता महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्नुभएको छ ।

यसैबिच : काग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानसभाबाट पहिलो पटक जारी भएको संघीय लोकतान्त्रिक गणतान्त्रिक नेपालको संविधानप्रदत्त गणतन्त्र, धर्मनिर पेक्षताल गायत उपलब्धिलाई संस्थागत गर्दै उत्साहजनक रूपमा भइरहेको स्थानीय तहको निर्वाचनका साथै प्रदेश र संघको निर्वाचन सफलतापूर्वक सम्पन्न गरी संविधानले हामी सबैलाई एक भएर अघि बढ्न प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएकोे छ ।

त्यसैगरी : अमेरिकी राष्ट्रपति डोनाल्ड जे ट्रम्पले नेपालको संविधान दिवसका अवसरमा सबै अमेरिकी नागरिकका तर्फबाट नेपाली जनतालाई शुभकामना व्यक्त गर्नुभएको छ । नेपाल खबरबाट