महिला उम्मेदवारले स्थान पाउन नसकेको गुनासो

काठमाडौं,मंसिर,३-

प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दिएका महिला चुनावी चर्चा, परिचर्चाभन्दा बाहिर रहेका छन् । अधिकांशले साना दलबाट उम्मेदवारी दिएका कारण उनीहरू चर्चामा छैनन् । सञ्चार माध्यममा पनि महिला उम्मेदवारले स्थान पाउन नसकेको गुनासो छ ।

समानुपातिक समावेशिताको जतिसुकै नारा दिए पनि प्रमुख राजनीतिक दलले प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ निकै कम महिला उम्मेदवार उठाएका छन् । मङ्सिर १० र २१ गते दुई चरणमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ कुल १६५ निर्वाचन क्षेत्रमा प्रमुख तीन दल नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)ले १८ महिलालाई मात्र उम्मेदवार बनाएको छ ।

तीमध्ये नेपाली काँग्रेसले नौ जनालाई उम्मेदवार बनाएको छ । महिला मुक्तिको चर्को मुद्दा उठाउने वामपन्थी दलमध्ये एमालेबाट पाँच र माओवादी केन्द्रबाट चार जनाले मात्र उम्मेदवारी दिएका छन् । यो प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फका कुल सिटमध्ये १० दशमलव ८ प्रतिशत मात्र हो । आजको गोरखापत्रमा खबर छ ।