‘वान बेल्ट वान रोड’अवधारणा सरकारको उच्च प्राथमिकतामा छः मन्त्री बस्नेत

काठमाण्डाैं,साउन,१९-

सरकारका प्रवक्ता एवम् सूचना तथा संचारमन्त्री मोहनबहादुर बस्नेतले चीनले अघि सारेको ‘वान बेल्ट वान रोड’ सम्बन्धि अवधारणालाई सरकारले उच्च प्राथमिकता दिएको दावी गर्नु भएको छ ।

संन्चारमन्त्री मोहन बहादुर बस्नेत

संचारमन्त्री बस्नेतले राष्ट्रहितलाई केन्द्रमा राखेर परराष्ट्र सम्बन्धलाई अघि बढाउँदै लगिएको पनि बताउनु भयो । आज काठमाडौंमा आयोजित ‘नेपाल – चीन सम्बन्ध’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले तातोपानी नाका खुलाउने काममा चीन सरकारसँग पहल भईरहेको पनि बताउनु भयो । उहाँले तातोपानी नाका नखुलेकै कारण मुलुकलाई अरबौंको राजस्व घाटा भईरहेको पनि स्मरण गराउनु भयो ।

२०७२ साल बैशाख १२ गतेको विनाशकारी भूकम्पले क्षति पुर्याएपछि तातोपानी नाका खुल्न सकेको छैन । मन्त्री बस्नेतले तातोपानी नाका खुलाउन चीन सरकारसँग वर्तमान सरकारले पनि पहल गरिरहेको जानकारी दिनु भयो । तातोपानी नाका बन्द हुँदा त्यस वरपरका आर्थिक गतिविधि समेत ठप्प हुँदै आएको छ ।