कोरोना संक्रमण बढेकाले यसपटक दशैंमा बैंक नखुल्ने

बैंक तथा वित्तीय संस्थामा हजारौं कर्मचारी संक्रमित

फाईल तस्विर !!

काठमाडौं,कार्तिक,५-विगत वर्षहरूमा दशैंमा पनि बैंकिङ सेवा दिँदै आएका वाणिज्य बैंकहरूले यसपटक ५ दिन बिदा दिने भएका छन् । नेपाल बैंकर्स संघले मंगलवार सूचना जारी गर्दै कोरोना संक्रमण बढ्दै गएकाले कात्तिक ७ गतेदेखि ११ गतेसम्म बैंकका सबै शाखा बन्द गर्ने निर्णय गरिएको जानकारी दिएको छ ।

संघका अनुसार वाणिज्य बैंकका ३ हजार ७०० भन्दा धेरै कर्मचारी संक्रमित भइसकेका छन् । विषम अवस्थामा पनि हालसम्म बैंकिङ सेवा नियमित प्रदान गर्दै आए पनि दशैंको बिदामा बैंकका शाखाहरू बन्द गरिने, तर डिजिटल बैंकिङ सेवामा कुनै अवरोध नहुने संघले बताएको छ । संघले कोरोना भाइरस संक्रमणबाट बच्न तथा जोखिम न्यूनीकरणका लागि डिजिटल बैंकिङको अधिकतम प्रयोग गर्न समेत ग्राहकवर्गमा अनुरोध गरेको छ ।

वाणिज्य बैंकका कर्मचारीको तुलनामा विकास बैंक, वित्त कम्पनी र लघुवित्त वित्तीय संस्थामा भने संक्रमित कर्मचारीको संख्या न्यून रहेको देखिन्छ । नेपाल डेपलपमेन्ट बैंकर्स एशोसिएशनले कात्तिक २ गतेसम्म २० ओटा विकास बैंकमा ४८५ जना कर्मचारी संक्रमित भएको बताएको छ । यीमध्ये ३०९ जना संक्रिय संक्रमित हुन् । यसैगरी ‘ग’ वर्गका २१ ओटा वित्त कम्पनीका करीब २०० कर्मचारी कोरोना संक्रमित भएका छन् ।

बैंकका काउन्टरमा बस्ने क्यासियरदेखि माथिल्लो तहका कर्मचारी कोरोना संक्रमित भएपछि आलोपालो गर्नुपर्दा सेवा प्रभावित भएको बैंकरहरू बताउँछन् । संक्रमित बढेकाले बैंकहरूले पछिल्लो समय सबै शाखा सञ्चालन गर्न सकेका छैनन् । केही बैंकले पालैपालो शाखा कार्यालय खोलेका छन् भने कतिपयले सेवाअवधि घटाएर १० देखि १ वा २ बजेसम्म कायम गरेका छन् ।

हाल सञ्चालनमा रहेका ८४ ओटा लघुवित्त वित्तीय संस्थाको अधिकांश कार्यालय ग्रामीण भेगमा भएकाले यस्ता संस्थाका कर्मचारी भने फाट्टफुट्ट मात्र संक्रमित भएका छन् । लघुवित्त संस्थाका कुल कर्मचारीको औसत २ प्रतिशत मात्र संक्रमित भएको नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष वसन्तराज लम्सालले जानकारी दिनुभयो । कोरोनाबाट केही कर्मचारी संक्रमित भए पनि ऋणी सदस्यबाट ब्याज उठाउन कर्मचारी फिल्डमा जान नसक्ने अवस्थाले ब्याज आम्दानी धेरै घटेको गुनासो उहाॅंले गर्नुभयो।

दिनप्रतिदिन कर्मचारी संक्रमित बढ्दा सबै सेवा प्रभावित भएको एनआईसी एशिया बैंकका जनसम्पर्क विभाग प्रमुख अर्जुन खनिया बताउँछन् । उहाॅंका अनुसार यो बैंकका सबै शाखामा गरेर करीब १५० जना संक्रमित भएका छन् । यस्तै सिटिजन्स बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले कर्मचारी जोखिम मोलेर काम गरिरहेकाले संक्रमित हुने र रिकभरी हुने क्रम जारी रहेको बताउनुभयो।आर्थिक अभियान