नेपालगन्जमा हुने ५ औ एजुकेसन फेरको पत्रकार सम्मेलन सम्पन्न

नेपालगन्ज,फाल्गुन,५-
यही फागुन १० र ११ गते नेपालगन्जमा पाँचौ नेपाल हाईएर एजुकेशन फेयर (शैक्षिक मेला) आयोजना हुने भएको छ । यसअघि चौथोसम्म काठमाडौंमा मात्र हुँदै आएको नेपालकै ठूलो शैक्षिक मेला पहिलो पटक मोफसलमा पनि हुन लागेको हो ।

नेपालमै गुणस्तरीय उच्च शिक्षा उपलब्ध गराउन सक्षम शिक्षण संस्थाका बारेमा जानकारी गराउँदै शिक्षाका लागि विदेशिने पुँजी रोक्न प्रत्येक बर्ष यो शैक्षिक मेला आयोजना गर्ने गरिएको बताईएको छ । मुलुक संघीयतामा गएपछि पहिलो पठक सातै प्रदेशमा यो शैक्षिक मेला विस्तार गरिएको नेपाल हाईएर एजुकेशन फेयर प्रदेश नं. ५ का को–अर्डिनेटर भरतसिंह विष्टले आईतबार नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

को–अर्डिनेटर विष्टका अनुसार सिद्धार्थ कटेजमा आउँदो शुक्रबार र शनिबार विहान १० बजेदेखि साँझ पाँच बजेसम्म संचालन हुने शैक्षिक मेलामा देशभरका २५ वटा उत्कृष्ट शिक्षण संस्थाहरुको सहभागिता रहने छ । पत्रकार सम्मेलनमा विष्टले भने, ‘उच्च शिक्षाका लागि विद्यार्थीहरु विभिन्न मुलुक जाने क्रम बढ्दै जाँदा स्वदेशमै उच्च शिक्षा उपलब्ध गराउने उच्च गुणस्तरका शिक्षण संस्था छन् भन्ने जानकारी विद्यार्थीहरुलाई गराउने मुख्य उद्देश्यले यो मेलाको आयोजना गरिएको हो ।

मेलामा नेपालमै अन्तर्राष्ट्रिय स्तरको शिक्षाका लागि विद्यार्थीहरुले आवश्यक परामर्श प्राप्त गर्न सक्ने पनि विष्टले बताए ।  बिभिन्न नेपालका यूनिभर्सिटीहरु सँगको समन्वयमा प्रत्येक बर्ष आयोजना गरिँदै आएको यो शैक्षिक मेलाबाट बीबीए, एमबीए, बीआईटी, बीआईएम, बीएचएम, एटीटीएम, बीबीएम, बीएचटीएम, बीएएसडब्लु , बीसीए, बीबीएस, बीएससी, सीएसआईटी, बीडेभ्स लगायत कोर्ष पढ्न चाहने विद्यार्थीहरु लाभान्वित हुने जनाईएको छ ।

‘लर्न लोकल्ली फिल ग्लोबल्ली’ भन्ने उद्देश्यसहित आयोजना भईरहेको शैक्षिक मेलाबारे जानकारी गराउँदै को–अर्डिनेटर बिष्टले भने, ‘कन्सल्टेन्सीहरुको लहलहैमा लागेर भारत लगायत तेस्रो मुलुकमा विद्यार्थीहरु जानेक्रम रोकिएको छैन । विद्यार्थीहरुले गुण्स्तरीय शिक्षा यहीँ प्राप्त गर्न सकुन् र उनीहरुलाई विदेश जानबाट रोक्न सकियोस् भनेरै यो एजुकेशनल फेयर आयोजना गरिँदैछ ।’

अघिल्लो बर्षको तथ्यांक अनुसार उच्च शिक्षा हासिल गर्न २३ प्रतिशत नेपालीहरु भारत जाने गरेका छन् भने ११ प्रतिशत अस्ट्रेलिया र अमेरिका पुग्ने गरेका छन् । त्यस्तै अन्य मुलुकमा उच्च शिक्षा हासिल गर्न जाने विद्यार्थीको संख्या १५ प्रतिशत छ । उच्च शिक्षाका लागि विदेशिने विद्यार्थीहरुबाट अरबौं रुपैयाँ विदेशिने गरेको छ ।

यो बर्षको शैक्षिक मेला व्यवस्थापन, आईटी र ह्युम्यानिटिजमा बढी फोकस भएको पनि विष्टले बताए । भिजन मिडिया इनकर्पोरेट र एजुकेशन डट कमको मुख्य आयोजनामा भईरहेको शैक्षिक मेलामा यहाँका बौईटल्याण्ड कलेज र अल्पाईन म्यानेजमेन्ट कलेजले सहयोग गरेका छन् ।

पत्रकार सम्मेलनमा ब्राईटल्याण्ड कलेजका प्रिन्सिपल डा. राजेश केशर खनाल र अल्पाईन म्यानेजमेन्ट कलेजका प्रिन्सिपल केशव पथिकले स्वदेशी शिक्षण संस्थाहरु पनि गुणस्तरीय शिक्षा दिन सक्षम रहेको हुँदा गुणस्तरीय शिक्षा प्रदान गर्ने यहाँका कलेजहरुबारे जानकारी प्राप्त गर्न शैक्षिक मेलामा सहभागि हुन सबैलाई आग्रह गरेका थिए ।