कृषिका सवालमा आधारित अन्तरक्रिया कार्यक्रम सम्पन्न

सिर्जना बर्देवा/
ओखलढुंगा ,कात्तीक,२१-

ओखलढुंगाको सिद्धिचरण नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधीहरु लाई स्वागत तथा बधाई एवं नगरपालिका तहमा कृषिका सवालमा आधारित अन्तरक्रिया कार्यक्रम गरिएको छ । राष्ट्रिय कृषक समूह महासंघ, नेपाल, सिद्धिचरण नगरपालिकाको नगर कार्य समितिको आयोजनामा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
सोही अवसरमा नगर कार्य समितिका अध्यक्ष सन्तोष कुमार घिमिरेले समितिका तर्फबाट नगरप्रमुख मोहन कुमार श्रेष्ठलाई कृषकहरुको कृषिको सवालहरुलाई सम्बोधन गरी दिन माग गर्दै १५ बुँदे ध्यानाकर्षण पत्र समेत हस्तान्तरण गर्नुभयो । ध्यानाकर्षण पत्र बुझ्दै नगरप्रमुख श्रेष्ठले पत्रको मर्मलाई आत्मसात् गरी पूर्णरुपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

आगामी दिनमा महासंघ सँग मिलेर कार्य गर्ने बचन बद्धता समेत व्यक्त गर्नुभएको छ । त्यस्तै, सिद्धिचरण नगरपालिका वडा नं १, तलुवाकी वडासदस्य राधा निरौलाले अहोरात्र कृषिमा लागि परेका कृषकको जीवनस्तर माथि उठ्न नसकेको र राज्यले पनि किसानमुखी निति नियम बनाउन नसकेको उल्लेख गर्नुभयो ।

उहाँले अबका दिनमा जिल्लाको एक मात्र नगरपालिकालाई समृद्ध कृषि क्षेत्र बनाउने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ । कार्यक्रमका विशेष अतिथी महासंघका केन्द्रीय कार्य समितिका सचिव रामहरि शर्माले समग्र कृषि क्षेत्रको विकासको लागि बजेट विनियोजन गरीदिन पदाधिकारीहरुलाई आग्रह गर्नुभयो ।

त्यस्तै, नगरपालिकाको भौगोलिक बनावट अनुसार अम्रिसो, अदुवा, अलैँची लगायत नगदे बालीलाई पकेट क्षेत्र घोषणा गरी कार्य अगाडी बढाउनको लागि माग समेत गर्नुभएको छ । कार्यक्रममा कृषक समूहका सदस्यहरुले गीतका माध्यमबाट आफ्ना समस्याहरु उजागर समेत गरेको महासंघका जिल्ला परियोजना अधिकृत मुना विकले जानकारी दिनुभयो । कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, कृषक एवं अन्य सरोकारवालाहरुको उल्लेख्य सहभागिता रहेको थियो ।