ट्रम्पले इरानमाथिको आक्रमणलाई हिरोशिमा र नागासाकीमा खसालिएको परमाणु बमसँग तुलना गर्दा जापानले गर्यौ निन्दा

फाईल तस्विर ।।

टोकियो,असार,१३-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथिको आक्रमणलाई हिरोशिमा र नागासाकीमा खसालिएको परमाणु बमसँग तुलना गरेकोमा जापानले आलोचना गरेको छ।

राष्ट्रपति ट्रम्पले इरानमाथि अमेरिकाले गरेको पछिल्लो आक्रमणलाई दोस्रो विश्वयुद्ध समाप्त गर्ने हिरोशिमा र नागासाकीमा गरिएको बम विस्फोटसँग तुलना गरेकोमा जापानले निन्दा गरेको बीबीसीले जनाएको छ।

ट्रम्पले इरानको आणविक स्थलहरूमा अमेरिकाले गरेको आक्रमणले युद्ध समाप्त भएको बताउनुभएको थियो।‘म हिरोशिमा र नागासाकीको उदाहरण दिन चाहन्नँ तर यो मूलतः उस्तै थियो’, ट्रम्पले बुधवार पत्रकारहरूलाई भन्नुभएको थियो।

सन् १९४५ को अगस्टमा अमेरिकाले जापानका दुई दक्षिणी शहरहरूमा परमाणु बम खसाल्दा झन्डै १ लाख ४० हजार जना मारिएका थिए।यो आक्रमणबाट बाँचेकाहरू अझै पनि मनोवैज्ञानिक आघात र क्यान्सरको बढ्दो जोखिमसँग जुधिरहेका छन्।

नागासाकीका मेयर शिरो सुजुकीले यदि ट्रम्पको टिप्पणीले परमाणु बम खसाल्नुलाई जायज ठहराउँछ भने त्यो आफूहरूका लागि अत्यन्तै खेदजनक रहने बताउनुभएको छ।

यसैबीच परमाणु बम आक्रमणबाट बाँचेकाहरूले हिरोशिमामा विरोध प्रदर्शन गर्दै अमेरिकी राष्ट्रपति आफ्नो बयान फिर्ता लिन माग गरेका छन्।

यस्तै हिरोशिमाका सांसदहरूले पनि परमाणु बमको प्रयोगलाई औचित्य दिने भनाइहरूलाई अस्वीकार गर्दै सशस्त्र द्वन्द्वहरू शान्तिपूर्ण रूपमा समाधान गर्न आह्वान गर्ने प्रस्ताव पारित गरेका छन्। उज्यालोबाट साभार