
गुन्मा,जापान,भाद्र,१५-जापानको गुन्मामा नेपाल फेस्टिवल हुन लागेको छ।गुन्मा प्रिफेक्चरको ओइजुमी माचीमा आउँदो सेप्टेम्बर ६ र ७, २०२५ मा आयोजना हुने “संयुक्त प्रथम नेपाल फेस्टिवल २०२५” भव्य तयारीका साथ अन्तिम चरणमा पुगेको छ।
“अनेकतामा एकता, नेपाली कला, संस्कृत र पहिचानलाई विश्व समुदायमाझ चिनाउने हाम्रो प्रतिबद्धता” भन्ने मूल नारा सहित आयोजना गर्न लागिएको यस महोत्सव सुरु हुन अब ५ दिन मात्रै बाँकी रहेको आयोजक समितिले जानकारी गराएको छ।
यस फेस्टिवलको आयोजना गर्नुको मुख्य उद्देश्य जापानमा बसोबास गर्ने नेपाली समुदायबीच आपसी सहकार्य, एकता र सामाजिक आत्मीयता विस्तार गर्नुका साथै नेपाली भाषा, कला, संस्कृति, परम्परा र पहिचानलाई प्रवर्धन गर्दै विदेशीहरूमाझ चिनाउनु रहेको छ।
फेस्टिवल गुन्मा केनमा सक्रिय १० वटा नेपाली संघ-संस्थाहरूको संयुक्त पहलमा आयोजना गर्न लागिएको हो।फेस्टिवलमा विविध सांस्कृतिक प्रस्तुतिहरू,स्वादिष्ट नेपाली परिकार, प्रदर्शनी तथा सामुदायिक मेलमिलापका गतिविधिहरू रहनेछन्।
फेस्टिवलमा चर्चित नेपाली कलाकारहरु निर्जला गुरुङ, सुर्य खड्का, चेतन घर्ती, रितु थापा , दिपा थापा , कर्मदोङ तामाङ, सोनम कहानी, रविना राई,दावा के शेर्पा, सुवास मोक्तान ,सोनु मगर ,सविना मगर लगायत चर्चित जापानीज गायिका कोटो मारिया को विशेष प्रस्तुति रहनेछ भने नेपाली पन्चे बाजा र विभिन्न संघ संस्था हरु एवंम एकल जातीय संस्थाहरुको उत्कृष्ट झाँकी समेत प्रस्तुत गरिने छ।
यसैगरी,नेपाली संगीत क्षेत्रलाई अन्तराष्ट्रिय स्तरमा पुऱ्याउँदै आएको लोकप्रिय ब्याण्ड “कन्दरा” ले गुन्मामा पहिलोपटक आफ्नो लाइभ शो प्रस्तुत गर्नेछ। Hong Kong Pokhara, Tagaroma Rumal Rakha जस्ता चर्चित गीतका कारण नेपाली मनमा बस्न सफल कन्दरा फेस्टिवलको मुख्य आकर्षण हुने अपेक्षा गरिएको छ।
यो फेस्टिवलले प्रवासमा रहेका नेपालीको कला, संस्कृति, खानपान र पहिचानलाई उजागर गर्ने विश्वास आयोजकले लिएको छ।
नेपाल फेस्टिवलमा जापानमा बसोबास गर्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा विदेशी मित्रहरूलाई कार्यक्रममा उपस्थित भई नेपाली कला-संस्कृति र परम्पराको स्वाद लिन आयोजक समितिले हार्दिक निमन्त्रणा गरेको छ।
फेस्टिवल हुने स्थान
स्थान: Izumi no Mori, Oizumi machi, Gunma
मिति: सेप्टेम्बर ६ र ७, २०२५
समय: बिहान १०:०० बजेदेखि बेलुकी ६:०० बजेसम्म





