गाउँमै मतदान केन्द्र भएपछि स्थानिय खुसी

रमित बि.क.

बाजुरा,जेष्ठ २८-

हिमाली गाउँपालिका ३ गुम्बाका स्थानिय गाउँमै मतदान केन्द्र हुन भएपछि खुसी भएका छन् । मतदान केन्द्र टाढा भएकाले स्थानिय तह निर्वाचनमा सहभागी नहुने बताएका स्थानियले गाउँमै मतदान केन्द्र थपिएपछि भाग लिने भएका हुन् ।

निर्वाच आयोगले जेष्ठ २५ गते गुम्बामा मतदान स्थल थप गर्ने निर्ण गरी कार्यान्वयनका लागी पत्र पठाएको छ । गुम्बा जिल्लाकै सर्वाधिक विकट र दुर क्षेत्रमा रहेको बस्ति हो । गुम्बा पुग्न सदरमुकाम मार्तडीबाट ३ दिनको पैदल यात्रा गरेर हिड्नुपर्ने बाध्यता रहेको थियो ।

गुम्बामा ३० जना मतदाता संख्या रहेको छ । गाउँबाट नजिकैको मतदान केन्द्रमा पुग्न १ दिन बढी पैदल दुरी पर्ने भएकोले मतदान बहिस्कार गर्ने बताउँदै आएका थिए । आउन जान र मतदानमा भाग लिन गरी ३ दिन खर्चिनुपर्ने,बृद्धबृद्धा र महिलाहरुले बालबालिकालाई साथमा बोकेर लैजान झनै समस्या हुने भएपछि स्थानियले मतदानमा भाग लिन पाएका हैनन् ।

गुम्बा गाउँमा भोटे जनजाति समुदायको मात्र बसोबास रहेको छ । चौतर्फी दबाब र आलोचना भएपछि जिल्ला निर्वाचन कार्यालय बाजुराको सिफारिसमा मतदान केन्द्र थप गर्ने निर्णय गरिएको थियो । गुम्बामा मतदान थपिएपछि ९२ वटा मतदान केन्द्र र ७० मतदान स्थल रहेको जिल्ला निर्वाचन कार्यालय बाजुराका सुचना अधिकारी मान बहादुर थापाले बताउनुभएको छ ।

मत हाल्नका लागी बास बस्नेगरी खानेकुरा बोकेर जानुपर्ने बाध्यता भन्दै गाउँमा मतदान केन्द्र हुनुपर्ने जनताको मागलाई जिल्लाका राजनितिक दल र जिल्ला निर्वाचन कार्यालयको ध्यान जान सकेको थिएन् । गाउँको राजनितिक पहँच कम हुने भएकाले त्यो बेला कसैले सुनेका थिएनन् ।

जेष्ठ २६ गते गते मतदान केन्द्र थप गर्ने निर्वाचन आयोगले चिठी पठाईसकेको जिल्ला निर्वाचन अधिकारी शुभद्रा शर्मा गौतमले जानकारी दिनुभएको छ । केही गाउँका स्थानियले यस अघिका निर्वाचनमा भाग लिएका थिए भने सिंगो गाउँले यस पटक मतदान गर्ने भएका छन् ।