एनसेलका छुट्टाछुट्टै टावरमा आगजनी : नख्खु बम बिस्फोटमा परी एक जनाको मृत्यु

काठमाडौं,फागुन,११-

गएराति छुट्टाछुट्टै स्थानमा रहेका एनसेल टावरमा आगजनी भएको छ । ललितपुरको नख्खुस्थित एनसेल कार्यालयमा विस्फोट भएलगत्तै कास्की,रुपन्देही र कञ्चनपुर जिल्लामा रहेका एनसेल टावरमा आगजनी भएको हो ।

ललितपुरको नख्खुस्थित एनसेल प्रा.लि.को गेटमा विष्फोट हुँदा घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ ।

बिष्फोटमा घाइते सिंहप्रताप गुरुङको उपचारको क्रममा मृत्यु भएको हो । उनको मेडिसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको ललितपुर प्रहरीले जनाएको छ । गुरुङलाई सुरुमा अल्का अस्पतालमा उपचार गरिए पनि पछि मेडिसिटी लगिएको थियो ।

शुक्रबार राति बम बिष्फोट हुँदा गुरुङसहित प्रतिक्षा खड्का र अनुषा डंगोल घाइते भएका थिए । प्रतिक्षा र अनुषाको उपचार जारी छ । उनीहरुमध्ये एकजनाको अवस्था गम्भीर छ ।

यसैबिच: कास्की जिल्लाको पोखरा महानगरपालिका-२७ चन्द्रकालिका डाडाको नाकस्थित एनसेलको टावरमा शुक्रबार राति करीब १० बजेको समयमा आगजनी भएको हो । प्रहरी कार्याल सिस्वाका डिएसपी मोहनबहादुर खाँडका अनुसार टावर डाँडामा रहेकाले दमकल पुग्न नपाउँदै टावर जलेर ध्वस्त भएको छ ।

आगो कसरी लाग्यो भन्ने अहिलेसम्म खुल्न नसकेको प्रहरीको भनाइ छ । एनसेलको टावर जलेसँगै लेखनाथ क्षेत्रमा विद्युत र इन्टरनेट सेवा विच्छेद भएको छ ।

त्यस्तै : रुपन्देहीको गैडहवा नगरपालिका–३ सुर्यपुरामा रहेको एनसेल टावरमा आगजनी भएको हो । राती १०:११ बजेको समयमा एनसेलको कनेक्सन तोडेर अज्ञात समूहले आगजनी गरेको हो । आगजनीबाट झण्डै ४ लाख बराबरको क्षती भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । 

दमकल नआएपछि प्रहरीले करेन्टको समेत पर्वाह नमानी आगो निभाएको रुपन्देहीका प्रहरी प्रमुख एसपी हृदय थापाले जानकारी दिए । 

आगलागी कसले गरेको हो भन्ने यकिन हुन सकेको छैन । विगतमा बिप्लव माओवादीले एनसेल टावर ध्वस्त पार्ने धम्कीसहितका बिज्ञप्ती निकालेका कारण सोही समूहले आगजनी गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।

यस्तै : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ असैनामा रहेको एनसेल कम्पनीको टावरमा पनि गएराति आगजनी भएको छ । टावरमा लगाइएको घेरबारको गेटको ताला तोडेर भित्र प्रवेश गरी टावरमा आगजनी गरेको पाइएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए ।

सर्वोच्च अदालतको आदेश नमानेको, सरकारलाई कर नतिरेको र कम्पनीले नाफा आर्जन गरी नेपालमा लगानी नगरेका कारण कारवाही गर्नुपरेको व्यहोरासहितको पर्चा घटनास्थलमा फेला परेको प्रहरीले जनाएको छ ।